
गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारले स्तन, पेट, सर्वाइकल तथा मुखको क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचलाई सुदृढ गर्न व्यापक कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गत स्वास्थ्य अनुसन्धान विभाग, भारत सरकार तथा भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) को सहकार्यमा राज्यका विद्यालय, कलेज तथा समुदायमा विभिन्न हस्तक्षेपमार्फत कार्यक्रम सञ्चालन गर्ने भएको हो।
डीएचआर-आईसीएमआर समर्थित क्यान्सर अनुसन्धान परियोजना 'सिक्किममा क्यान्सर जॉंचको सह-विकास र कार्यान्वयन: सिक्किममा ग्यास्ट्रोइन्टेस्टाइनल, सर्वाइकल, स्तन र मुखको क्यान्सरको प्रारम्भिक पहिचानको लागि एक बहु-नमूना दृष्टिकोण' को कार्यान्वयनसम्बन्धी पहिलो सरोकारवाला बैठक १ र २ सेप्टेम्बरमा गान्तोकमा आयोजना गरिएको थियो।
बैठकको अध्यक्षता स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जीटी ढुङ्गेलले गरेका थिए। कार्यक्रममा भारत सरकारको स्वास्थ्य अनुसन्धान विभागकी संयुक्त सचिव रिचा खोडा, शिक्षा विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो तथा आईसीएमआर मुख्यालय नयाँ दिल्लीकी वैज्ञानिक डा. निशा के. जोसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमले सिक्किमको स्थानीय परिवेशअनुकूल क्यान्सरका प्रमुख परिवर्तन गर्न सकिने जोखिमहरू-सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, अस्वस्थकर खानपान तथा शारीरिक निष्क्रियतालाई लक्षित गर्दै एकीकृत हस्तक्षेप सञ्चालन गर्नेछ।
विद्यालय तथा कलेजका लागि तयार गरिने विभिन्न मोड्युलमार्फत क्यान्सरसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गरिनेछ। समुदायस्तरमा स्वयं सहायता समूह, आशा कार्यकर्ता तथा पञ्चायती राज संस्थाहरू मार्फत जनचेतना तथा परिचालन गर्दै मुख्य रूपमा क्यान्सरपूर्व घाउ तथा प्राथमिकतामा रहेका क्यान्सरको प्रारम्भिक पहिचानमा जोड दिइनेछ।
यस पहलअन्तर्गत क्षेत्रीय खानपान तथा पर्यावरणीय जोखिमको पनि अध्ययन गरिनेछ। परम्परागत रूपमा पकाइने खाद्य पदार्थमा सम्भावित क्यान्सरजन्य रसायनको उपस्थितिबारे प्रमाण संकलन गर्नुका साथै पोषणसम्बन्धी चेतना अभिवृद्धि गरिनेछ। कार्यक्रमअन्तर्गत सिक्किमका सबै ६ जिल्लाका योग्य जनसंख्यालाई समेटेर जनसंख्यामा आधारित क्यान्सर जॉंच गरिनेछ। यसका लागि एचपीवी स्याम्पलिङ, सेल्फ-स्याम्पलिङ किट, क्लिनिकल स्क्रिनिङ तथा एन्डोस्कोपी स्क्रिनिङलगायतका विधि प्रयोग गरिनेछ।
कार्यक्रमलाई सम्बोधन मन्त्री ढुङ्गेलले मुख्यमन्त्रीको नेतृत्वमा राज्य सरकार सार्वजनिक स्वास्थ्य र रोग रोकथामलाई प्राथमिकता दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। जीवनशैलीसँग सम्बन्धित रोग तथा क्यान्सर नियन्त्रणका लागि समुदायको तल्लो तहदेखि नै सक्रिय हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय तहदेखि नै बालबालिकामा स्वस्थ बानीको विकास तथा प्राथमिकताका क्यान्सरको सामुदायिकस्तरमा जॉंचलाई सुदृढ गर्नुपर्ने बताए। यसले भावी पुस्तालाई सुरक्षित राख्दै स्वस्थ सिक्किम निर्माणमा योगदान पुर्याउने उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल