
गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। सिक्किम अकादमीले 'तेस्रो सिक्किम अकादमी पुरस्कार 2026' को लागि प्रविष्टिहरू आमन्त्रित गरेको छ। यस पटक अकादमीले लोक गीतलाई पुरस्कारको निम्ति चयन गरेको छ। विजेतालाई एक लाख पॉंच हजार रूपियॉं नगद पुरस्कार प्रदान गरिने छ।
उक्त जानकारी सिक्किम अकादमीका अध्यक्ष प्रवीण राई 'जुमेली' ले आज जर्नलिस्ट युनियन अफ सिक्किममा आयोजित एक पत्रकार सम्मेलनमा दिए। यस अघि 2024 मा सिवन राईले र 2025 मा भरत राईले पुरस्कार प्राप्त गरिसकेको जानकारी गराउॅंदै यस पटक लोक गीतलाई चयन गरिएको उनले बताए। लोक गीत विधाको लागि तृणमूल स्तरमा जानुपर्ने भएकाले उनले मिडियालाई सूचना प्रचार-प्रसारको निम्ति अनुरोध गरे।
उनले सिक्किममा बसोबासो गर्ने लोक गायकहरू यसमा सहभागी बन्न सक्ने अवगत गराउॅंदै उनीहरूले लोक गायनका प्रमाणहरू डिजिटल फर्म्याटमा पठाउनु पर्ने बताए। डिजिटल फर्म्याटमा उपलब्ध गराउन नसकेको खण्डमा लोक गायकहरूले निर्णायकहरू समक्ष अडिसन दिनुपर्ने उनले बताए।
अकादमीका महासचिव पूर्ण योञ्जनले यस विधाका लागि 15 बुॅंदे दिशानिर्देश निर्धारित गरिएको बताए। उनले भने, 'प्रतिभागी सिक्किमवासी र नेपाली भाषाको लोक गीत हुनुपर्छ। सरकारी कर्मचारीले भाग लिन पाउने छैनन्। प्रतिभागीले आफ्नो जैव परिचय पठाउनु पर्नेछ। लोक गायनमा काम गरेका डिजिटल दस्तावेजहरू बुझाउनु पर्नेछ। रेकर्ड छैन भने अडिसन मार्फत पनि सहभागी बन्न तथा मौलिक वाद्ययन्त्र प्रयोग गर्न सक्नेछन्।चलचित्रका गीतहरू वर्जित रहनेछ।' उनले एक भन्दा बढी प्रतिभागी चयन भएको खण्डमा पुरस्कार राशि आधा-आधा गरेर प्रदान गरिने बताए।
सिक्किम अकादमीका अध्यक्षले पञ्जीकरण भोलिदेखि नै शुरू हुने र 30 सेप्टेम्बर, 2026 सम्म जारी रहने बताए। इच्छुक व्यक्तिहरूले सन्ध्या लामिछानेलाई 9064450355 मा, बिशाल दर्जीलाई 7908647967 मा र पर्वत लामिछानेलाई 8001769701 मा आफ्ना आवश्यक विवरणहरू पठाउन सक्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल