
मस्को, २० सेप्टेम्बर (हि.स.)। मस्कोका मेयर सर्गेई सोब्यानिनले युक्रेनले २०२२ फरवरीमा युद्ध शुरु भएयता राजधानीमा अहिलेसम्मकै ठूलो ड्रोन हमला गरेको दाबी गरेका छन्। उनका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ भने रुसी वायु रक्षा प्रणालीले युक्रेनका सयौँ ड्रोन खसालेको छ। उनले संसदीय निर्वाचनमा अवरोध पुर्याउने उद्देश्यले युक्रेनले हमला गरेको दाबी गरेका छन्।
स्काई न्युज र तासका अनुसार, मेयर सोब्यानिनले राजधानीमा जारी ड्रोन हमलाका कारण मस्को तेल प्रशोधन केन्द्रको एक संरचनामा क्षति पुगेको बताएका छन्। उनले सन्देश आदानप्रदान माध्यममार्फत भनेका छन्, “शत्रुका ड्रोनबाट मस्कोमाथि हमला जारी छ। मस्को तेल प्रशोधन केन्द्रको एक संरचनामा क्षति पुगेको छ, तर हालसम्म कसैको हताहत भएको सूचना छैन।” घटनास्थलमा उद्धार तथा राहत टोली परिचालन गरिएको उनले बताएका छन्।
रिपोर्टअनुसार, आइतबार मध्यरातदेखि मस्कोतर्फ आइरहेका ३३८ ड्रोनलाई रुसी वायु रक्षा प्रणालीले नष्ट गरेको थियो। त्यसपछि रुसी रक्षा मन्त्रालयको वायु रक्षा बलले मस्कोतर्फ आइरहेका थप १५२ ड्रोन नष्ट गरेको मेयर सोब्यानिनले बताएका छन्। ड्रोनको भग्नावशेष खसेका क्षेत्रमा उद्धार टोलीले काम गरिरहेको उनले जनाएका छन्। यसअघि मस्कोतर्फ आउँदै गरेका १८६ ड्रोन खसालिएको जानकारी दिइएको थियो।
२०२२ फरवरीमा युक्रेनविरुद्ध रूसले व्यापक सैन्य कारबाही शुरु गरेपछि यो पहिलो संसदीय निर्वाचन हो। क्रेमलिनले यस निर्वाचनलाई राष्ट्रपति भ्लादिमिर पुटिनका नीति तथा युद्धप्रति जनसमर्थनको प्रमाणका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
पुतिन समर्थित सत्तारूढ ‘युनाइटेड रशिया’ पार्टीले ४५० सदस्यीय तल्लो सदन ‘स्टेट ड्युमामा’ आफ्नो प्रभुत्व कायम राख्ने अपेक्षा गरिएको छ। उक्त दलसँग हाल ३१० सिट छन्। संविधान संशोधन गर्न अन्य दलको समर्थन आवश्यक नपर्ने गरी कम्तीमा ३०० सिट कायम राख्नुपर्ने हुन्छ।
रूसको एकमात्र शान्तिको पक्षमा खुलेर आवाज उठाउने ‘याब्लोको’ पार्टीलाई निर्वाचनमा सहभागी हुन रोक लगाइएको छ। मतपत्रमा रहेका सबै १० दलले युद्धलाई समर्थन गर्ने बताइएको छ। निर्वाचन शुरु हुनुअघि राष्ट्रपतिको सम्बोधनमा पुतिनले जनताको मतले लाखौँ मानिस आफ्ना सैनिकको साथमा रहेको देखाउने बताएका थिए।
यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत मस्को क्षेत्रमा गरिएको लामो दूरीको हमलाले ठूलो प्रभाव पारेको दाबी गरेका छन्। उनले रूसको तेल उद्योगको महत्वपूर्ण केन्द्र तथा रसदसम्बन्धी केन्द्रलाई निशाना बनाइएको बताएका छन्। जेलेन्स्कीले रूसले युद्ध अन्त्य गरी शान्तिको बाटो रोज्नुपर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल