नेशनल लिटरेरी फेस्टिबल इण्डिया 2026 मा मङ्पुका दुई कविले भाग लिने
कवि प्रमिला मुखिया


उदय थुलुङ


मङ्पु, 20 सेप्टेम्बर (हि.स.)। आगामी 26 र 27 सेप्टेम्बर, 2026 मा उडिसाको भुवनेश्वरस्थित जयदेव भवन अनि गीता गोविन्द भवनमा सम्पन्न हुन गइरहेको नेशनल लिटरेरी फेस्टिभल इण्डियाको पाँचौँ संस्करणमा नेपाली भाषा- साहित्यको तर्फबाट सहभागी बन्न कवि प्रमिला मुखिया अनि वरिष्ठ साहित्यकार उदय थुलुङ मङ्पुबाट प्रस्थान गर्ने भएका छन्। उडिसाका भूतपूर्व मुख्यमन्त्री नवीन पटनायकद्वारा उद्घाटन गरिने उक्त पहिलो दिनको कार्यक्रममा पद्मश्री देवीप्रसाद पटनायक, पूर्व मन्त्री तथा कवि डा प्रसन्न पटसानी, बङ्ला कवि प्रोफेसर सुबोध सरकार अनि कवि अश्विनी कुमार विशिष्ट अतिथिहरु रहनेछन्।

कार्यक्रममा फेस्टिभलका अध्यक्ष, केन्द्र साहित्य अकादेमी पुरस्कार तथा उडिसा साहित्य अकादेमी पुरस्कार प्रापक वरिष्ठ कवि साहित्यकार डा फनी महान्तीले स्वागत भाषण राख्नेछन्। 26 सेप्टेम्बरको दिन बिहान दश बजी शुरू गरिने उद्घाटन सत्रपछि लगत्तै सम्पन्न हुने प्यानल डिस्कसनमा नेपाली भाषाबाट वरिष्ठ साहित्यकार उदय थुलुङले भाग लिनेछन्।

उसै गरी दुवै दिनहरुमा सम्पन्न हुने बहुभाषी वृहत कविता उत्सवमा भारतीय विभिन्न भाषाका सयौँ वरिष्ठ, विशिष्ट र ख्यातिप्राप्त कविहरुले कविता पाठ गर्नेछन्। नेपाली भाषाबाट कवि प्रमिला मुखिया अनि उदय थुलुङले यसमा भाग लिनेछन्।

दोस्रो दिनको कार्यक्रमलाई भारतका भूतपूर्व शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले उद्घाटन गर्नेछन्। सो दिन शिक्षा, उडिया साहित्य र संस्कृति मन्त्री सूरज सूर्यवंशी, आईआईएमसी पूर्व डाइरेक्टर जेनरल सुनित टन्डन लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु, प्रख्यात विद्वान साहित्यकारहरु उपस्थित रहनेछन्।

यस दुई दिवसीय उत्सवमा दुवै दिन प्यानल डिस्कसन, पुस्तकहरुका विमोचन, कविता वाचन, महत्वपूर्ण वक्तव्यहरु साथै 'शब्दब्रह्म' को विशेष महोत्सव अङ्कको समेत विमोचन गरिनेछ। यस राष्ट्रीय साहित्य महोत्सवका सभापति डा फनी महान्ती, सचिव प्रणव छोटाराय तथा राष्ट्रीय सारस्वत उत्सवका सम्पादक डा सत्यव्रत जेनालाई यति गरिमामय साहित्य महोत्सवको आयोजनाको सफलताको निम्ति शुभकामना दिँदै नेपाली भाषा साहित्यलाई यति धेरै माया र सम्मान गर्दै महोत्सवमा सहभागी बन्न भुवनेश्वरमा निमन्त्रणा दिए वापत् कवि प्रमिला मुखिया अनि उदय थुलुङले हृदयबाट आभार व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande