तीनधारे रेलवे अस्पताललाई यथावत् राख्न र डा ईआर लामाको सरुवा नगर्न माग
तीनधारेका जनता


खरसाङ, 20 सेप्टेम्बर (हि.स.)। तीनधारेका जनताले तीनधारे रेलवे अस्पतालका डा ईआर लामाको सरुवाको विरोध जनाउँदै उनलाई तीनधारेमा नै राख्नु पर्ने माग गरेका छन्। तीनधारे रेलवे अस्पतालका डा ईआर लामालाई तीनधारेबाट सरुवा गर्ने र तीनधारे रेलवे अस्पताललाई केवल क्लिनिक मात्र बनाउने हल्लालाई ध्यानमा राख्दै यस्तो माग गरिएको छ।

प्राप्त जानकारी अनुसार, तीनधारे रेलवे अस्पतालका डा ईआर लामालाई 15-20 दिन अघि नै एनजेपी सरुवा गरिएको पत्र आएको छ। साथै, तीनधारे रेलवे अस्पताललाई पनि अब केवल क्लिनिकको रुपमा राख्ने अपुष्ट जानकारी अघि आएको छ। यसपछि तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरु, विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरु, सामाजिक कार्यकर्ताहरु, विभिन्न विधामा रहेका व्यक्ति विशेष र बुद्धिजिवीहरु आज तीनधारेको गोलाई पाखामा भेला भएर उक्त निर्णयको विरोध जनाएका छन्।

डा लामाको सरुवालाई लिएर खरसाङका विधायक सोनाम लामा, दार्जिलिङका सांसद राजु विष्टलाई जानकारी गराइएको र सम्पूर्ण तीनधारेवासीको पक्षमा मास पिटिशन लेखेर लिखित ज्ञापन पत्र पनि बुझाउने भएको जानकारी गराइएको छ। तीनधारेमा यस रेलवे अस्पतालको पुरानो गरिमा रहेको र यसको आवश्यकता अहिले पनि उत्तिकै रहेकाले अस्पताललाई यथावत् राख्नु पर्ने माग गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande