
नयाँ दिल्ली, २१ सेप्टेम्बर (हि.स.)। कांग्रेस महासचिव जयराम रमेशले देशमा खाद्य पदार्थ तथा दैनिक उपभोगका आवश्यक वस्तुहरूको मूल्य निरन्तर बढिरहेको दाबी गर्दै मोदी सरकार महँगीको विषयमा मौन रहेको आरोप लगाएका छन्। उनले दाल, मसला, खाद्य तेल र प्याजको बढ्दो मूल्यले गरिब तथा मध्यमवर्गीय परिवारको कठिनाइ बढाएको बताएका छन्। रमेशले सरकारसँग महँगी नियन्त्रणका लागि तत्काल कडा कदम चाल्दै आम जनतालाई राहत प्रदान गर्न माग गरेका छन्।
रमेशले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पछिल्लो एक महिनामा मसलाको मूल्यमा १० देखि २५ प्रतिशतसम्म वृद्धि भएको दाबी गरेका छन्। उनका अनुसार, सानो अलैँचीको मूल्य ४ हजार रुपियाँबाट बढेर ४ हजार ४ सय रुपियाँ, ठूलो अलैँचीको मूल्य २ हजार ४ सयबाट बढेर २ हजार ८ सय रुपियाँ, जिराको मूल्य ३ सय ६० बाट बढेर ४ सय रुपियाँ तथा जावित्रीको मूल्य २ हजार ५ सयबाट बढेर ३ हजार रुपियाँ प्रतिकिलो पुगेको छ।
उनले अरहर दालको मूल्य १०० रुपियाँबाट बढेर १३० रुपियाँ, चना दालको मूल्य ७० बाट बढेर १०० रुपियाँ तथा उडद दालको मूल्य १२० बाट बढेर १४० रुपियाँ प्रतिकिलो पुगेको दाबी गरेका छन्। त्यसैगरी, तोरीको तेल १९० रुपियाँबाट बढेर २१० रुपियाँ तथा सफोला तेल २४० बाट बढेर २८० रुपियाँ प्रतिलिटर पुगेको उनको भनाइ छ।
रमेशले जूनदेखि सेप्टेम्बरसम्म प्याजको अखिल भारतीय औसत खुद्रा मूल्य प्रतिकिलो २९.५० रुपियाँबाट बढेर ५३.७८ रुपियाँ पुगेको बताएका छन्। उनले यसलाई करिब ८२.३ प्रतिशतको वृद्धि भएको दाबी गर्दै महँगीका कारण गरिब परिवारका लागि दाल तथा आवश्यक खाद्य सामग्री खरिद गर्न कठिन हुँदै गएको बताएका छन्।
उनले अनियन्त्रित महँगी नियन्त्रण गर्न सरकारले तत्काल कडा कदम चाल्नुपर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी