
हैदराबाद, २२ सेप्टेम्बर (हि.स.)। राजीव गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)–आदिलाबादको विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसीयू)मा भएको दुर्घटनामा मंगलवार थप एक नवजात शिशुको मृत्यु भएको छ। निजामाबादको सरकारी सामान्य अस्पतालमा उपचारका क्रममा २० दिनकी बालिकाको मृत्यु भएको हो। यससँगै दुर्घटनामा मृत्यु हुने नवजात शिशुको संख्या तीन पुगेको छ।
अधिकारीहरू अनुसार, बालिकाले मंगलवार बिहान लगभग ९ बजी अन्तिम सास लिएकी हुन्। अवस्था गम्भीर भएपछि उनलाई निजामाबादको सरकारी सामान्य अस्पतालमा भर्ना गरिएको थियो। उनी सोमवार राति एसएनसीयूमा एसीमा भएको विद्युत् सर्ट सर्किटपछि भएको विस्फोटबाट निस्किएको विषाक्त धुवाँको चपेटामा परेका पाँच नवजातमध्ये एक थिइन्।
दुर्घटनामा पाँच दिनको एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि अर्का एक नवजात शिशुको मंगलवार बिहान सबेरै आदिलाबादको निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। तेस्रो बालिकाको मृत्यु निजामाबादको सरकारी अस्पतालमा भएको हो।
दुर्घटनाका बेला एसएनसीयूमा लगभग ३० नवजात शिशुको इन्क्युबेटरमा उपचार भइरहेको थियो। एसीमा विस्फोट भएपछि एकाइभित्र बाक्लो धुवाँ र विषाक्त ग्यास फैलियो। प्रभावित पाँच नवजातलाई तत्काल विभिन्न अस्पतालमा भर्ना गरियो। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने दुई नवजातको अवस्था अझै गम्भीर रहेको बताइएको छ।
अधिकारीहरूले मृतक तथा प्रभावित नवजातहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन्। रिम्स व्यवस्थापनले घटनाको अनुसन्धान शुरु गरेको छ। दुर्घटनाको कारण पत्ता लगाउन प्राविधिक पक्षबाट समेत अनुसन्धान भइरहेको छ। अधिकारीहरूले अनुसन्धानका क्रममा कुनै पनि तहमा लापरबाही भएको पाइएमा सम्बन्धित व्यक्ति विरुद्ध कड़ा कारबाही गरिने बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी