
एकता नगर, २२ सेप्टेम्बर (हि.स.)। केन्द्रिय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले राष्ट्रिय फिल्म पुरस्कारलाई अब देशका प्रमुख पर्यटकीय स्थलसम्म पुर्याउने पहल भइरहेको बताएका छन्। यसको उद्देश्य फिल्म र पर्यटनलाई एकसाथ जोड्नु रहेको उनले बताए।
राष्ट्रिय फिल्म पुरस्कार समारोहका लागि केवड़िया रेलवे स्टेशन पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अश्विनी वैष्णवले यस पहलको शुरूआत एकता नगरबाट गर्न लागिएको बताए। सरदार वल्लभभाई पटेलको प्रतिमा तथा प्राकृतिक सौन्दर्यका कारण एकता नगरले देश तथा विश्वमा प्रमुख पर्यटकीय स्थलका रूपमा आफ्नो पहिचान बनाइसकेको उनले बताए। राष्ट्रिय फिल्म पुरस्कारका अवसरमा राष्ट्रपति, फिल्म क्षेत्रका प्रमुख कलाकार तथा अन्य व्यक्तिहरू एकता नगर पुग्दा यस पर्यटकीय स्थलले अझ् व्यापक पहिचान प्राप्त गर्ने उनको भनाई थियो।
अश्विनी वैष्णवले सरकारको प्रयास राष्ट्रिय फिल्म पुरस्कारलाई केवल कुनै सम्मेलन कक्षमा सीमित नराखी आम जनता र वास्तविक पर्यटकीय स्थलसँग जोड्नु रहेको बताए। उनले सबै राज्यलाई आफ्ना उत्कृष्ट पर्यटकीय स्थलका प्रस्ताव पठाउन आग्रह गरे। प्रस्तावमा राम्रो सुविधा सहित ३६० डिग्री विकासको योजना पनि समावेश हुनुपर्ने उनले बताए। जुन राज्यको प्रस्ताव छनोट हुनेछ, त्यहाँको पर्यटकीय स्थलमा अर्को राष्ट्रिय फिल्म पुरस्कार समारोह आयोजना गरिने उनले जानकारी दिए।
केन्द्रिय मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० सम्मेलनको आयोजना देशका विभिन्न भाग तथा राज्यसम्म पुर्याएको उल्लेख गर्दै त्यही सोचअनुसार राष्ट्रिय फिल्म पुरस्कारलाई पनि देशका विभिन्न स्थानमा लैजान लागिएको बताए। यसबाट फिल्म र पर्यटनबीचको सम्बन्ध अझ् बलियो हुने तथा सम्बन्धित पर्यटकीय स्थलले पनि व्यापक लाभ प्राप्त गर्ने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी