सिटिजन एक्सन पार्टीको गेजिङ जिल्लास्तरीय संगठनात्मक समन्वय सभा सम्पन्न
सीएपी पार्टी अध्यक्ष गणेश राई


- संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई

गान्तोक, २२ सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ जिल्ला-स्तरीय संगठनात्मक समन्वय सभा आज पार्टी अध्यक्ष गणेश राईको प्रमुख उपस्थितिमा सम्पन्न भयो। सभामा पार्टी उपाध्यक्ष सुमति छेत्री, राज्यस्तरीय नेताहरू, जिल्ला अध्यक्ष ओङ्दिला भोटिया, केन्द्रिय कार्यकारिणी सदस्यहरू तथा चारवटै विधानसभा क्षेत्रका अध्यक्ष, समन्वयक र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सीएपीद्वारा जारी विज्ञप्तिका अनुसार, छलफलका क्रममा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्माण भइरहेको संगठनात्मक संरचना, हालसम्मका उपलब्धि, विस्तारका क्रममा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरियो। चारवटै क्षेत्रका अध्यक्षहरूले आ-आफ्नो क्षेत्रको संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कार्यकर्ताहरूले ‘शून्य समय’ मा आफ्ना सुझाउ, समस्या र धारणा राखे।

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले सिक्किममा लामो समयदेखि विकसित भएको संस्थागत भ्रष्टाचारको संस्कृतिले राज्यका लोकतान्त्रिक, प्रशासनिक तथा सामाजिक संस्थाहरूलाई कमजोर बनाएको बताए। उनले भ्रष्टाचार, अव्यवस्था, अनियमितता, अन्याय, बेरोजगारी तथा गरिबीजस्ता समस्यालाई सामान्य राजनीतिक विषयका रूपमा मात्र नहेरी राज्यको समग्र भविष्यसँग जोडेर हेर्नुपर्ने बताए।

उनले यस्ता प्रवृत्तिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको र अहिले विभिन्न प्रकारका राजनीतिक खतरा तथा चुनौतीहरू उत्पन्न हुँदै राज्यको अस्तित्व र भविष्यसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएको बताए। उनले सिक्किमको पहिचान, अधिकार, लोकतान्त्रिक संस्थाहरू र भावी पुस्ताको भविष्यको रक्षा गर्न नागरिकहरू सचेत, जिम्मेवार र संगठित हुनुपर्नेमा जोड दिए।

अध्यक्ष राईले २०२९ लाई सिक्किम र सिक्किमे जनताको भविष्यका लागि महत्वपूर्ण राजनीतिक वर्षका रूपमा लिँदै संगठनलाई अझ सक्रिय, जागृत र सुदृढ बनाएर “सिक्किम सुधारको महाअभियान” लाई सफल बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे। उनले भने, “अब सिक्किमे नागरिक मौन दर्शक भएर बस्ने समय होइन। आफ्नो राज्यको भविष्यप्रति सचेत हुँदै लोकतान्त्रिक र संगठित रूपमा अघि बढ्ने समय आएको छ।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande