
गान्तोक, २२ सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको गृह विभागअन्तर्गत राज्य विधिविज्ञान (फरेन्सिक साइन्स) प्रयोगशाला (एसएफएसएल), सिक्किमले आज गान्तोकको जलीपुलस्थित आफ्नो प्रयोगशालाको सम्मेलन कक्षमा क्राइम सीन म्यानेजमेन्टसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गर्यो। क्राइम सीन तथा विधिविज्ञानसम्बन्धी प्रमाणलाई वैज्ञानिक ढंगले प्रबन्धन गर्ने विषयमा अनुसन्धान अधिकृतहरूको ज्ञान, कौशल तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयोगशालाले विज्ञप्तिमा बताएको छ।
कार्यक्रममा राज्यका सबै जिल्लाका अनुसन्धान अधिकृत तथा पुलिसकर्मीहरूको सहभागिता रहेको थियो। उनीहरूले राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय (एनएफएसयू), दिल्ली क्याम्पस तथा दिल्लीस्थित विधिविज्ञान प्रयोगशालाका प्रख्यात विधिविज्ञान विशेषज्ञहरूसँग गहन प्राविधिक अन्तरक्रिया गरे।
कार्यक्रममा आधुनिक अपराधस्थल अनुसन्धानका विभिन्न महत्वपूर्ण पक्षबारे जानकारी दिइयो। यसअन्तर्गत अपराधस्थल प्रबन्धन, विधिविज्ञानसम्बन्धी प्रमाणको व्यवस्थित दस्तावेजीकरण तथा संकलन, विस्फोटक पदार्थ तथा आगजनीसम्बन्धी अनुसन्धान, प्रमाणको संरक्षण तथा आपराधिक अनुसन्धानमा विधिविज्ञान मनोविज्ञानको भूमिकालगायतका विषय समेटिएका थिए।
सहभागीहरूलाई सिक्किम राज्य विधिविज्ञान प्रयोगशालाले हालै प्राप्त गरेका चलायमान विधिविज्ञान सवारीसाधनबारे पनि जानकारी गराइयो। अपराधस्थलको वैज्ञानिक तथा समयमै परीक्षण गर्न यी सवारीसाधनको भूमिकाबारे सहभागीहरूलाई अवगत गराइयो।
अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले अनुसन्धानका क्रममा सामना गर्ने व्यावहारिक चुनौतीबारे छलफल गर्ने अवसर पाए। साथै, अपराधस्थलमा वैज्ञानिक तथा विधिविज्ञानसम्बन्धी पद्धतिको प्रयोगबारे विशेषज्ञहरूबाट जानकारी प्राप्त गरे।
नयाँ आपराधिक कानुन लागू भएको तथा आपराधिक न्याय प्रणालीमा वैज्ञानिक अनुसन्धान र विधिविज्ञानसम्बन्धी प्रमाणमा बढ्दो जोड दिइएको सन्दर्भमा कार्यक्रमको विशेष महत्व रहेको जनाइएको छ। यो कार्यक्रम सिक्किम राज्य विधिविज्ञान प्रयोगशालाले क्षमता अभिवृद्धि तथा अनुसन्धान र अभियोजन प्रक्रियासँग विधिविज्ञान विज्ञानको एकीकरणलाई सुदृढ बनाउने निरन्तर प्रयासको एक हिस्सा रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल