
खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' को निधनमा सार्वजनिक शोक सभाको आयोजना गरिएको छ। उक्त सार्वजनिक शोक सभा गोर्खा जनपुस्तकालयका अध्यक्ष आईएन शर्माको अध्यक्षतामा र मूल सचिव गोमा सुब्बाको सञ्चालनमा सम्पन्न गरियो।
शोक सभामा भाषा संग्रामी, नेपाली भाषा मान्यता आन्दोलनका एकजना सक्रिय नेतृत्व, समाजसेवी, साहित्यकार, आध्यात्मिक चिन्तक एवं वरिष्ठ व्यक्तित्व बुद्धिमान प्रधान 'बमप' को तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन साथै आत्मा शान्तिको लागि 108 वटा बत्ती बालेर सार्वजनिक रुपमा श्रद्धाञ्जली अर्पण गरियो। यस अवसरमा साई समिति खरसाङको तर्फबाट शान्ति प्रार्थना गरिएको थियो। सार्वजनिक शोक सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए।
यस क्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधित्व गर्दै तिलक शर्मा, पूर्ण गुरुङ 'निरुपम', सुवास प्रधान, सुवास छेत्री, विनोद प्रकाश शर्मा, आशा मुखिया लामा आदिले भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' को विभिन्न योगदान र उनको विषयमा वक्तव्य राख्दै श्रद्धाञ्जली अर्पण गरे। उक्त सार्वजनिक श्रद्धाञ्जली सभामा सभाध्यक्ष आईएन शर्माले उपस्थित सबैलाई धन्यवाद दिँदै भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' माथि श्रद्धाञ्जली अर्पण गरेको गोर्खा जनपुस्तकालय खरसाङकी मूल सचिव गोमा सुब्बाले जानकारी गराएकी छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक