
नयाँ दिल्ली, २२ सेप्टेम्बर (हि.स.)। निर्वाचन आयोगले बिहार, कर्नाटक, महाराष्ट्र र उत्तर प्रदेशका विधान परिषद्का स्नातक तथा शिक्षक निर्वाचन क्षेत्रबाट हुने द्विवार्षिक निर्वाचनको कार्यक्रम मंगलवार घोषणा गरेको छ। यी सीटका लागि २३ अक्टोबरमा मतदान हुनेछ भने २७ अक्टोबरमा मतगणना गरिनेछ।
यी निर्वाचन मार्फत बिहार विधान परिषद्का ८, कर्नाटकका ४, महाराष्ट्रका ५ र उत्तर प्रदेशका ११ सदस्यको कार्यकाल समाप्त भएपछि रिक्त हुने सीटहरू पूर्ति गरिनेछ। सम्बन्धित निर्वाचन क्षेत्रमा तोकिएका जिल्ला वा मण्डलका पञ्जीकृत स्नातक तथा शिक्षक मतदाताले मतदान गर्नेछन्।
आयोगले जारी गरेको कार्यक्रम अनुसार, निर्वाचनका लागि २९ सेप्टेम्बरमा अधिसूचना जारी गरिनेछ। उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति ६ अक्टोबर तोकिएको छ। उम्मेदवारीपत्रको जाँच ७ अक्टोबरमा हुनेछ भने उम्मेदवारहरूले ९ अक्टोबरसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
आयोगले निर्वाचन कार्यक्रम घोषणा भएसँगै सम्बन्धित निर्वाचन क्षेत्रमा आदर्श आचार संहिता तत्काल प्रभावबाट लागू भएको जनाएको छ। निर्वाचन विधान परिषद्को माथिल्लो सदनका सदस्य चयनका लागि हुनेछ र स्नातक तथा शिक्षक निर्वाचन क्षेत्रका पञ्जीकृत मतदाताले यसमा सहभागिता जनाउनेछन्।
मतदान २३ अक्टोबरमा बिहान ८ बजीदेखि अपराह्न ४ बजीसम्म हुनेछ। मतगणना २७ अक्टोबरमा गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी