
पाकिम, २२ सेप्टेम्बर (हि.स.)। सिक्किम ग्रामीण जीविकोपार्जन अभियान (एसआरएलएम), ग्रामीण विकास विभागअन्तर्गत पाकिम खण्डको सहयोगमा सुई धागा स्वयं सहायता समूह सिलाइ समूहद्वारा स्थापना गरिएको खादा निर्माण एकाइको आज पाचेमा उद्घाटन गरियो। एकाइको संयुक्त रूपमा एसआरएलएमकी प्रमुख कार्यकारी अधिकृत राजनी शर्माले र पाकिमका अतिरिक्त जिल्लापाल पुल्कितले उद्घाटन गरे।
उक्त एकाइलाई पाकिमस्थित बीडीएसले प्रवर्द्धन गरेको हो भने पाचे सामसिङ ग्राम पञ्चायत एकाइअन्तर्गत ग्राम पञ्चायत विकास योजनाबाट प्राप्त आर्थिक सहयोगमार्फत एकाई सञ्चालनमा ल्याइएको हो।
स्वयं सहायता समूहलाई जीविकोपार्जनका गतिविधि, सीप विकास, उद्यम विकास तथा बजारसँगको सम्बन्ध विस्तारमार्फत सुदृढ बनाउने एसआरएलएमको प्रयासअनुरूप यो पहल अघि बढाइएको हो। साथै, स्वयं सहायता समूहलाई दिगो आयआर्जनका गतिविधि विकास गर्न र आफ्ना उत्पादनको पहुँच विस्तार गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको बताइएको छ।
खादा स्थानीय रूपमा स्वयं सहायता समूहका महिला सदस्यहरूले उत्पादन गर्नेछन्। यसका लागि उनीहरूले आफूहरूसँग रहेको सिलाइसम्बन्धी सीप र अनुभवलाई उपयोग गर्दै थप जीविकोपार्जनका अवसर सिर्जना गर्नेछन्। यस पहलले समुदायस्तरमा पर्यावरणमैत्री तथा दिगो उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय रूपमा उत्पादित विकल्पको प्रयोगलाई बढावा दिने र स्वयं सहायता समूहका आयआर्जनसम्बन्धी गतिविधिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमका क्रममा सुई धागा सिलाई समूहकी अध्यक्ष अञ्जना शर्माले समूह स्थापना भएदेखि हालसम्मको यात्राबारे जानकारी दिँदै समूहले गर्दै आएको सिलाइसम्बन्धी गतिविधिबारे प्रकाश पारिन्। उनले सदस्यहरूको सीपलाई उपयोग गर्दै वर्षभरि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले खादा निर्माणलाई थप गतिविधिका रूपमा अघि बढाइएको बताइन्।
उद्घाटनपछि प्रतिनिधिमण्डलले खादा निर्माण एकाइको भ्रमण गरी यसको सञ्चालनबारे जानकारी लिए। उनीहरूले खादा डिजाइन, छपाई तथा तयारीका लागि प्रयोग हुने उपकरणसहित मेसिन तथा कार्यक्षेत्रको अवलोकन गरे। प्रतिनिधिमण्डलले स्वसहायता समूहका सदस्यहरूसँग अन्तरक्रिया गर्दै खादा निर्माणमा अपनाइने प्रक्रियाबारे जानकारी पनि लिए।
छलफलका क्रममा उत्पादनको प्रवर्द्धन तथा स्थानीय रूपमा उत्पादित विकल्पको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा पनि चर्चा भयो। उत्पादनबारे जनचेतना बढाउने तथा यसको पहुँच विस्तार गर्ने विभिन्न उपायबारे समेत छलफल गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल