
गान्तोक, २२ सेप्टेम्बर (हि.स.)। महिला सशक्तिकरण, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागअन्तर्गत राज्य महिला सशक्तिकरण केन्द्रको आयोजनामा भारत सरकारको प्रमुख पहल ‘मिशन शक्ति’ का विभिन्न पक्ष, महिला हेल्पलाइन १८१ तथा घरेलु हिंसासम्बन्धी कानुनी संरक्षणबारे विस्तृत सचेतना कार्यक्रम आज गान्तोक जिल्लाको पेन्लोङ पञ्चायत भवनमा सम्पन्न भयो।
कार्यक्रममा ‘सङ्कल्पः महिला सशक्तिकरण केन्द्र’, १८१ महिला हेल्पलाइन, वान स्टप सकेन्टर योजना तथा घरेलु हिंसाविरुद्ध उपलब्ध कानुनी संरक्षणबारे स्थानीय समुदायलाई जानकारी गराइएको थियो।
कार्यक्रममा लैङ्गिक विशेषज्ञ नीकिता गुरुङले ‘मिशन शक्ति’ अन्तर्गतका प्रमुख आधारस्तम्भबारे विस्तृत जानकारी दिइन्। उनले ‘सङ्कल्पः महिला सशक्तिकरण केन्द्र’ मार्फत महिलाका लागि उपलब्ध सहयोग प्रणाली, संस्थागत संयन्त्र तथा कल्याणकारी सेवाबारे जानकारी दिँदै यी सेवाहरू स्थानीय तहसम्म सहज रूपमा पुर्याउने तथा समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउने विषयमा जोड दिइन्।
प्राविधिक सत्रमा स्रोत व्यक्ति छिमी डोमा भोटियाले २४ घण्टा निःशुल्क आपतकालीन सेवा प्रदान गर्ने १८१ महिला हेल्पलाइनको कार्यप्रणालीबारे विस्तृत जानकारी दिइन्। साथै, वान स्टप सेन्टरमार्फत उपलब्ध एकीकृत आपत्कालीन तथा गैर आपतकालीन सहयोगबारे जानकारी दिँदै चिकित्सकीय सहायता, कानुनी परामर्श, अस्थायी आश्रय तथा मनोवैज्ञानिक सहयोगजस्ता सेवाबारे बताइन्।
उनले घरेलु हिंसाबाट महिलाको संरक्षणसम्बन्धी ऐनका प्रावधानबारे पनि सहभागीहरूलाई जानकारी गराइन्। यस क्रममा पीडितले उजुरी गर्न सक्ने माध्यम, सुरक्षात्मक उपाय तथा तत्काल राहत र समाधानका लागि उपलब्ध व्यवस्थाबारे चर्चा गरियो।
कार्यक्रममा आयोजित अन्तरक्रियात्मक खुल्ला सत्रमा स्वसहायता समूहका सदस्य तथा अन्य सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाए। उनीहरूले कल्याणकारी योजना तथा सङ्कटको अवस्थामा उपलब्ध सहयोगसम्बन्धी विभिन्न विषयमा स्रोत व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा प्रश्न गरी जानकारी लिए।
हिन्दुस्थान समाचार / बिशाल