जोरथाङमा पीएम विश्वकर्मा कारीगारका लागि जीएसटी पञ्जीकरण शिविर आयोजना
जोरथाङमा पीएम विश्वकर्मा कारीगारका लागि जीएसटी पञ्जीकरण शिविर आयोजना


जोरथाङ, २२ सेप्टेम्बर (हि.स.)। जोरथाङ नगरपालिकामा पीएम विश्वकर्मा योजनाअन्तर्गतका कारीगारहरूका लागि विशेष वस्तु तथा सेवा कर (जीएसटी) पञ्जीकरण शिविर आज सफलतापूर्वक आयोजना गरियो। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभाग, पीएम विश्वकर्मा योजनाको नोडल विभागको रूपमा गान्तोकस्थित सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास कार्यालय (एमएसएमई-डीएफओ) को समन्वय तथा गान्तोकस्थित केन्द्रिय वस्तु तथा सेवा कर कार्यालयको सहकार्यमा शिविर आयोजना गरियो।

कारीगारहरूलाई बजार सहयोग उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वाणिज्य एवं उद्योग विभागले बताएको छ। यसअन्तर्गत कारीगरहरूलाई अमेजन, फ्लिपकार्ट, वालमार्टलगायत विभिन्न डिजिटल बजार माध्यममा आबद्ध गराउने लक्ष्य राखिएको थियो, जसका लागि जीएसटी पञ्जीकरण अनिवार्य हुन्छ। एसएलपीएमयू टोलीका प्रेम छेत्री र शुक्राम राईले गेजिङ, सोरेङ तथा नाम्ची जिल्लाका कारीगारहरूलाई परिचालन गर्नुका साथै आवश्यक परामर्श र सहजीकरण प्रदान गरे।

अधिकारीहरूले भविष्यमा पनि यस्ता शिविर आयोजना गरिने र जीएसटी पञ्जीकरणमार्फत थप कारीगारहरूलाई अनलाइन बजारमा पहुँच स्थापित गर्न तथा आफ्नो उत्पादन बिक्रीका लागि डिजिटल बजार माध्यममा आबद्ध हुन सहयोग पुर्‍याइने जानकारी दिए। कार्यक्रमका क्रममा छ जना कारीगारले अस्थायी जीएसटी पञ्जीकरण प्राप्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande