जाति, धर्मको बाध्यताबिना विवाहलाई बढ़ावा दिने सङ्घ, विहिपको निर्णय
प्रतीकात्मक तस्वीर


कोच्चि, २२ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र विश्व हिन्दू परिषद् (विहिप) ले हिन्दू समुदायमा सामाजिक परिवर्तन तथा युवाको सहभागिता बढ़ाउने उद्देश्यले जाति र कुण्डलीको बाध्यताबिना विवाहलाई प्रोत्साहन गर्ने निर्णय गरेका छन्। यसका साथै पुरुषलाई शर्ट लगाएर मन्दिर प्रवेशको सुविधा उपलब्ध गराउने तथा युवालाई सामुदायिक गतिविधिसँग जोड्न प्रत्येक जिल्लामा निःशुल्क जिम स्थापना गर्ने योजना बनाइएको छ।

विहिपका केरल प्रदेश महासचिव अनिल विलायिलले संघका उत्तर केरल प्रान्त प्रचारक तथा विहिपका केरल पालक अधिकारी ए. विनोदको उपस्थितिमा भएको बैठकमा यी निर्णय गरिएको बताए।

विलायिल अनुसार, संगठनले कुण्डली मिलानलाई विवाहको अनिवार्य शर्त नमान्ने र युवालाई कुण्डली नमिलाई विवाह गर्न प्रोत्साहित गर्नेछ। उनी अनुसार, हिन्दू महाकाव्य तथा इतिहासमा विवाहका लागि कुण्डली मिलान अनिवार्य गरिएको स्पष्ट आधार पाइँदैन। यो परम्परा पछिल्ला केही शताब्दीमा बढ़ी प्रचलनमा आएको उनको भनाइ छ। संगठन अनुसार, कुण्डलीसम्बन्धी मान्यताका कारण धेरै विवाहमा अनावश्यक ढिलाइ हुने वा सम्बन्ध तय हुन नसक्ने अवस्था सिर्जना हुन्छ।

संगठनहरूले जातिय बाध्यताभन्दा माथि उठेर विवाहलाई प्रोत्साहन गर्न पनि जोड दिएका छन्। यसलाई प्रस्तावित पुनरुत्थान कार्यक्रमको हिस्सा बताइएको छ। कार्यक्रमको उद्देश्य युवासँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्नु तथा उनीहरूलाई हिन्दू समुदाय र धार्मिक गतिविधिमा थप सक्रिय रूपमा जोड्नु रहेको बताइएको छ।

मन्दिरहरूमा शर्ट लगाएर प्रवेशको सुविधा

बैठकमा पुरुषहरूको मन्दिर प्रवेशका विषयमा पनि निर्णय गरिएको छ। विहिप अनुसार, उसको व्यवस्थापनमा रहेका २२६ वटा मन्दिरमा पुरुषलाई शर्ट लगाएर प्रवेश गर्ने अनुमति यसअघि नै दिइसकिएको छ। पवाकुलम महादेव मन्दिर र तिरुनक्करा श्रीकृष्ण स्वामी मन्दिर सहित केही मन्दिरमा यो व्यवस्था प्रयोगका रूपमा लागू गरिएको छ।

विहिपले अब थप मन्दिरमा यो व्यवस्था लागू गर्न अखिल केरल तन्त्री समाजमसँग सम्पर्क गर्नेछ। संगठन अनुसार, यसको उद्देश्य पुरुषलाई माथिल्लो वस्त्र उतार्नुपर्ने असुविधाबाट जोगाउनु तथा यस्तो व्यवस्थाका कारण मन्दिर जानबाट टाढ़ा रहेका युवालाई मन्दिरसँग जोड्नु हो।

विहिप अनुसार, यो पहल लगभग दुई वर्षअघि त्रिशूरमा हिन्दू संन्यासीहरूको संगठन मार्गदर्शक मण्डलको बैठकमा राखिएको प्रस्तावपछि शुरु भएको हो।

हरेक जिल्लामा निःशुल्क जिमको योजना

युवालाई आकर्षित गर्न तथा उनीहरूलाई सामुदायिक गतिविधिसँग जोड्न विहिपको युवा शाखा बजरंग दलको नेतृत्वमा प्रत्येक जिल्लामा ‘बालोपासना केन्द्र’ नामबाट निःशुल्क जिम स्थापना गर्ने योजना बनाइएको छ। संगठन अनुसार, अटिङ्गल, पालक्काड र एर्नाकुलममा यस्ता केन्द्र यसअघि नै सञ्चालनमा ल्याइसकिएको छ।

हिन्दू ऐक्य वेदीकी नेतृ केपी शशिकला तथा अन्य व्यक्तिहरूले यी निर्णयको स्वागत गरेका छन्। विलायिलले विवाह, मन्दिर प्रवेश तथा युवाको सहभागितासँग सम्बन्धित यी पहल हिन्दू समुदायमा सामाजिक परिवर्तनका लागि शुरु गरिएको पुनरुत्थान कार्यक्रमको शुरूआत भएको बताए।

/ बिशाल


 rajesh pande