
हैदराबाद, २३ सेप्टेम्बर (हि.स.)। आदिलाबादस्थित राजीव गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स) को विशेष नवजात शिशु हेरचाह इकाई (एसएनसीयू) मा वातानुकूलित यन्त्र विस्फोटपछि निस्किएको विषाक्त धुवाँ र ग्यासको चपेटामा परी बुधबार उपचाररत थप दुई नवजात शिशुको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
अधिकारीहरूका अनुसार, इन्दरवेली मण्डलको डुब्बागुडा निवासी नागुबाईका नवजात शिशुको निर्मलस्थित एउटा अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो। त्यस्तै, लिङ्गापुर मण्डलकी दुर्गाबाईका शिशुले रिम्समा उपचारका क्रममा ज्यान गुमाएका छन्।
यसअघि दुर्घटनामा एक महिनाभन्दा कम उमेरका तीन जना समयअगावै जन्मिएका नवजात शिशुको श्वास फेर्न नसक्दा मृत्यु भएको थियो। एसएनसीयूमा वातानुकूलित यन्त्र विस्फोट भएपछि विषाक्त धुवाँ र ग्यास फैलिएको थियो। घटनाका क्रममा सुरक्षा गार्ड, एम्बुलेन्स चालक तथा अस्पतालका कर्मचारीहरूले अन्य २० नवजात शिशुलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए।
दुर्घटनापछि आफ्ना सन्तान गुमाएका परिवारमा शोक छाएको छ। परिवारका सदस्यहरूले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न अस्पतालको सुरक्षा व्यवस्था तथा आधारभूत सुविधामा सुधार गर्न माग गरेका छन्।
प्रारम्भिक रूपमा वातानुकूलित यन्त्रको खराब मर्मतसम्भार तथा रिम्सको आधारभूत संरचनामा रहेको कमीलाई दुर्घटनासँग जोडेर हेरिएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण जाँच पूरा भएपछि मात्र पत्ता लाग्नेछ।
घटनाको जाँच गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले दुर्घटनाको कारण, एसएनसीयूमा सुरक्षा व्यवस्था तथा वातानुकूलित यन्त्रको मर्मतसम्भारलगायत अन्य पक्षको जाँच गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी