
नयाँ दिल्ली, २४ सेप्टेम्बर (हि.स.)। केन्द्रिय जलशक्तिमन्त्री सीआर पाटिलको अध्यक्षतामा आज भारत र नेदरल्यान्ड्सबीच जल क्षेत्रको रणनीतिक साझेदारीलाई लिएर द्विपक्षीय बैठक आयोजना गरिँदैछ। बैठक दिउँसो ३ बजी भारत मण्डपम् परिसरमा हुनेछ।
जलशक्ति मन्त्रालयका अनुसार, बैठकका क्रममा भारत र नेदरल्यान्ड्सबीच जल क्षेत्रमा रणनीतिक साझेदारी तथा उत्कृष्टता केन्द्र स्थापना गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ।
यस अवसरमा केन्द्रिय जल आयोग, गुजरात सरकारको कल्पसर विभाग र नेदरल्यान्ड्सको जलसम्बन्धी अनुसन्धान संस्था डेल्टारेसबीच परियोजनामा प्राविधिक सहयोगका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिनेछ।
यसका साथै केन्द्रिय जल आयोग, गुजरात सरकारको कल्पसर विभाग र नेदरल्यान्ड्सको डेल्फ्ट प्राविधिक विश्वविद्यालयबीच क्षमता विकास तथा तालिमका लागि पनि त्रिपक्षीय समझदारीपत्र गरिनेछ।
भारत मण्डपम्मा २२ सेप्टेम्बरदेखि शुरु भएको पाँचदिने भारत अन्तरराष्ट्रिय जल सप्ताह २०२६ अन्तर्गत आयोजना हुने यस कार्यक्रममा जल प्रबन्धन, प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा भारत र नेदरल्यान्ड्स साझेदारीलाई थप सुदृढ बनाउने विषयमा जोड दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी