
काठमाडौं, २४ सेप्टेम्बर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनालले हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्वास र पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग मागेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोवानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ बैठकमा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु-लचिलोपन, आपदापूर्व तयारी र क्षमता विकासमा थप लगानीको आवश्यकतामा जोड दिए।
विदेशमन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि प्रदान गर्दै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गरे। उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको बताए।
राडोवानले नेपालमा हालै आएको विनाशकारी आपदालाई विश्वव्यापी साझा चुनौतीका रूपमा उल्लेख गर्दै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन्।
बैठकमा नेपाल र जर्मनीबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचारविमर्श भयो। दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा आगामी दिनमा सहयोगलाई थप मजबुत र गहिरो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल