उपराष्ट्रपति, लोकसभा अध्यक्ष र रक्षा मन्त्रीद्वारा पण्डित दीनदयाल उपाध्यायलाई श्रद्धाञ्जली
प्रतीकात्मक


नयाँ दिल्ली, २५ सेप्टेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला र रक्षामन्त्री राजनाथ सिंह लगायत विभिन्न नेताहरूले शुक्रवार ‘अन्त्योदय’ र ‘एकात्म मानववाद’ दर्शनका प्रणेता तथा भारतीय जनसङ्घका संस्थापक सदस्य पण्डित दीनदयाल उपाध्यायलाई उनको जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जालमा पण्डित दीनदयाल उपाध्यायलाई जयन्तीका अवसरमा श्रद्धापूर्वक नमन गर्दै उनी दूरदर्शी चिन्तक, देशभक्त तथा ‘एकात्म मानववाद’ र ‘अन्त्योदय’का प्रवर्तक रहेको बताएका छन्। विकासको केन्द्रमा जनतालाई राख्ने तथा समाजको अन्तिम पङ्क्तिमा रहेका व्यक्तिको उत्थान गर्ने उनका आदर्शले समावेशी प्रगति, सामाजिक न्याय र राष्ट्र निर्माणको यात्रामा निरन्तर प्रेरणा प्रदान गरिरहेको उनले उल्लेख गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले पण्डित दीनदयाल उपाध्यायको जीवन सरलता, चिन्तनशीलता, राष्ट्रको निःस्वार्थ सेवा तथा समाजका अन्तिम व्यक्तिको कल्याणप्रतिको समर्पणको प्रेरणादायी उदाहरण रहेको बताए। ‘अन्त्योदय’ मार्फत उनले विकास कार्यमा समाजका सबैभन्दा पछाड़िएका र वञ्चित व्यक्तिलाई प्राथमिकता दिनुपर्ने पक्षमा वकालत गरेको उनले उल्लेख गरे। उनी अनुसार, विकासको लाभ समाजको अन्तिम तहसम्म पुगेर प्रत्येक व्यक्तिले सम्मानजनक जीवन जिउने अवसर पाएमा मात्र विकास सार्थक हुन्छ।

रक्षामन्त्री राजनाथ सिंहले पण्डित दीनदयाल उपाध्यायको जीवन राष्ट्रको निःस्वार्थ सेवा, सरलता, इमानदारी र सिद्धान्तप्रतिको अटल निष्ठाको प्रेरणादायी उदाहरण रहेको बताए। ‘अन्त्योदय’ मार्फत उनले समाजको अन्तिम पङ्क्तिमा रहेका व्यक्तिसम्म विकास, अवसर र सम्मान पुर्याउने मार्ग देखाएको तथा ‘एकात्म मानववाद’ मार्फत समावेशी, सन्तुलित र एकीकृत विकासको व्यापक दृष्टिकोण प्रस्तुत गरेको उनले बताए।

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले पण्डित दीनदयाल उपाध्यायले राजनीतिलाई सत्ता प्राप्तिको माध्यम नभई राष्ट्रसेवा र समाजको अन्तिम व्यक्तिको उत्थानको माध्यम मानेको बताए। ‘राष्ट्रधर्म’ र ‘पाञ्चजन्य’ मार्फत उनले राष्ट्रिय विचारलाई स्वर दिएको तथा विभिन्न आन्दोलन मार्फत राष्ट्रिय एकताका मुद्दा स्पष्ट रूपमा उठाएको शाहले उल्लेख गरे।

केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पण्डित दीनदयाल उपाध्यायका विचार र सिद्धान्तले देशलाई वैकल्पिक विचारधारा प्रदान गरेको बताए। राष्ट्र पुनर्निर्माणमा उनको विचारधाराले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले गरीबहरूको कल्याणका लागि उपाध्यायले ‘एकात्म मानववाद’को दर्शन र ‘अन्त्योदय’को विचारलाई व्यवहारमा उतारेको बताए।

/ बिशाल


 rajesh pande