

हैदराबाद, २५ सेप्टेम्बर (हि.स.)। विश्व हिन्दू परिषद्का पूर्व अन्तरराष्ट्रिय अध्यक्ष अशोक सिंघलको जन्म शताब्दीका अवसरमा हैदराबादमा भव्य समारोह आयोजना गरिने भएको छ। विश्व हिन्दू परिषद् तेलङ्गाना क्षेत्रको आयोजनामा ४ अक्टोबर अपराह्न ४ बजी करमनघाट हनुमान मन्दिर नजिक एसवाईआर कन्भेन्सन हल (आरसीआई रोड) मा समारोह आयोजना गरिनेछ। आयोजकहरूले शुक्रवार कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएका छन्।
आयोजकहरू अनुसार, समारोहमा देशको राजनीतिक तथा आध्यात्मिक क्षेत्रसँग सम्बन्धित प्रमुख व्यक्तिहरू सहभागी हुनेछन्। भारतका पूर्व उपराष्ट्रपति वेंकैया नायडू प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। विश्व हिन्दू परिषद्का केन्द्रिय उपाध्यक्ष चम्पत राय मुख्य वक्ताका रूपमा अशोक सिंघलको जीवन, सामाजिक कार्य तथा हिन्दू समाजका लागि उनले गरेको योगदानबारे विचार प्रस्तुत गर्नेछन्।
विश्व हिन्दू परिषद् अनुसार, अशोक सिंघलले हिन्दू समाजलाई सङ्गठित र जागृत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राम जन्मभूमि आन्दोलनमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको परिषद्ले जनाएको छ। जन्मशताब्दी समारोह मार्फत उनको जीवन तथा कार्यलाई स्मरण गरिनेछ।
अशोक सिंघल जन्मशताब्दी स्वागत समितिले श्रद्धालु तथा विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूलाई समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुन अपील गरेको छ। समितिले कार्यक्रम सफल बनाउन कार्यकर्ताहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी