नमामि भारतम्: वन्दे मातरम्को १५०औँ वर्षगाँठमा सामूहिक गायन सम्पन्न
नमामि भारतम्: वन्दे मातरम्को १५०औँ वर्षगाँठमा सामूहिक गायन सम्पन्न


आरिटार, 25 सेप्टेम्बर (हि.स.)। पाकिम जिल्लाको आरिटारस्थित सरस्वती विद्या निकेतनमा शुक्रबार ‘नमामि भारतम्’ कार्यक्रमअन्तर्गत राष्ट्रगीत ‘वन्दे मातरम्’ को १५०औँ वर्षगाँठको अवसरमा विशेष कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रम विद्या भारती अखिल भारतीय शिक्षा संस्थान, नयाँ दिल्ली र सिक्किम प्रान्तको मार्गदर्शनमा आयोजना गरिएको विद्यालयका प्रधानाचार्य रजीत प्रधानले बताएका छन्।

कार्यक्रममा मुख्य अतिथिका रूपमा वैभव पाण्डे, असिस्टेन्ट कमान्डेन्ट, एसएसबी ६९औँ बटालियनको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्षका रूपमा आरिटारका पूर्व प्रधानाचार्य मोहन सापकोटा उपस्थित थिए। कार्यक्रममा अवकाशप्राप्त शिक्षक, पूर्व पञ्चायत प्रतिनिधिहरू, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण ‘वन्दे मातरम्’ को सामूहिक गायन रहेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा उपस्थित सम्पूर्ण सहभागीहरूले एकताबद्ध भएर वन्दे मातरम्‌को सामूहिक गायन गर्दै राष्ट्रप्रतिको सम्मान, प्रेम र समर्पण व्यक्त गरे।

कार्यक्रमले राष्ट्रिय एकता, देशभक्ति, संस्कार र राष्ट्रप्रेमको भावनालाई अझ सुदृढ बनाएको थियो। सहभागीहरूको उत्साहपूर्ण सहभागिताले विद्यालय परिसरमा देशभक्तिमय वातावरण सिर्जना भएको थियो।

यस अवसरमा उपस्थित अतिथिहरूले राष्ट्रप्रेम, राष्ट्रिय एकता र भावी पुस्तामा देशप्रतिको जिम्मेवारीबोध विकास गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।

समग्रमा, ‘नमामि भारतम्’ अन्तर्गत वन्दे मातरम्‌को १५०औँ वर्षगाँठको सामूहिक गायन कार्यक्रम सरस्वती विद्या निकेतन, आरिटारका लागि गौरवपूर्ण, प्रेरणादायी र स्मरणीय अवसरका रूपमा सम्पन्न भएको प्रधानाचार्य प्रधानले बताएका छन्।

--

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande