
काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १८७ देशसम्म विस्तार भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका नेपालका विदेशमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तरराष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसावीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षरअघि दुवै देशका विदेश मन्त्रीबीच पारस्परिक हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो। नेपालको विदेश मन्त्रालयका अनुसार, भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिबारे पनि छलफल गरिएको थियो।
दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिएका छन्। दुवै देश तथा तिनका नागरिकको साझा प्रगति र समृद्धिका लागि आपसी सहयोगलाई थप अघि बढाउनुपर्नेमा उनीहरूले सहमति जनाएका छन्।