
काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायुजन्य विपद्सँग जुध्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै यस्तो प्रस्ताव राखेका हुन्। उनले हिमालय क्षेत्र करिब २ अरब मानिसको आश्रयस्थल हुनुका साथै पृथ्वीको जीवनरक्षक प्रणालीको महत्वपूर्ण हिस्सा रहेको बताए।
प्रस्तावित संयन्त्रमार्फत उपग्रहसम्बन्धी तथ्यांक आदान-प्रदान, जोखिमयुक्त हिमतालको संयुक्त निगरानी तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।
शाहले विपद्का समयमा सीमापार समन्वयलाई थप मजबुत बनाउनुपर्ने बताए। हिमालय क्षेत्रलाई खण्डित सूचनाको सीमाभन्दा माथि उठाएर अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल