नेपालका प्रधानमन्त्रीले वैश्विक आपूर्ति व्यवस्थामाथि उठाए प्रश्न, भने- हतियार छिट्टै पुग्छन्, किसानलाई मल पुग्दैन
संयुक्त राष्ट्र में पीएम बालेन्द्र का संबोधन


काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी आपूर्ति व्यवस्थामा रहेको असमानतामाथि प्रश्न उठाउँदै विश्वमा हतियार आपूर्तिका लागि तीव्र र प्रभावकारी व्यवस्था भए पनि किसानसम्म मल र इन्धन पुर्‍याउने व्यवस्था कमजोर रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वको जुनसुकै स्थानमा पुग्ने गरे पनि नेपालका किसानले आवश्यक समयमा बजार मूल्य तिर्न तयार हुँदा समेत मल र इन्धन खरिद गर्न नसक्ने बताए।

उनले भने, “हामीले युद्धका लागि त्रुटिरहित ढुवानी प्रणाली र खाद्य पदार्थका लागि छरिएको ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ।”

शाहले कुनै आवश्यक वस्तुको मूल्य तिर्न सक्ने देशका नागरिकले त्यो वस्तु खरिद गर्ने अवसर पाउनुपर्ने बताए। विश्वले ७२ घण्टाभित्र हतियार जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने अवस्थामा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित राख्नुको कुनै औचित्य नरहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले यस विषयलाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर तथा विकासशील देशका जनताले आफूहरूले सिर्जना नगरेका संकटको भार उठाउनुपरेको बताए। जलवायु परिवर्तनले नेपालजस्ता देशलाई प्रभावित गरिरहेको तथा विश्वव्यापी आपूर्ति शृंखलाका कमजोरीले गरिब जनसंख्यामाथि थप दबाउ सिर्जना गरिरहेको उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande