
काठमाडौँ, २५ सेप्टेम्बर (हि.स.)। नेपालको प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेट गरेका हुन्।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी क्षेत्रमा आएको आपदाका कारण भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघ नेपालसँग एकजुट भएर रहने बताएका छन्। उनले नेपाली प्रतिनिधिमण्डलमा सहभागी युवाहरूको पनि प्रशंसा गरे।
प्रधानमन्त्री सचिवालयका अनुसार, गुटेरेसले सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै पदबाट अवकाश लिएपछि पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालप्रति गुटेरेसले देखाएको समर्थन र सद्भावका लागि धन्यवाद ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना दिएका छन्। उनले प्राकृतिक विपद्का कारण नेपालले ठूलो क्षति व्यहोरेको तथा हिमताल विस्फोटको जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटमा नदी किनारमा बसोबास गर्ने समुदायको पुनर्स्थापना, हरित पुनर्निर्माण तथा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट नेपाललाई स्तरोन्नति गर्ने निर्धारित समयसीमा थप गर्न अन्तरराष्ट्रिय समर्थन जुटाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल