देशभर गुञ्जियो ‘वन्दे मातरम्’, २५ हजारभन्दा बढी स्थानमा सामूहिक गायन
देशभर गुञ्जियो ‘वन्दे मातरम्’, २५ हजारभन्दा बढी स्थानमा सामूहिक गायन


- आफ्नो संस्कार, संस्कृति, परम्परा, भाषा र साहित्यको अवहेलना गरेर कुनै पनि देश महान बन्न सक्दैन: अक्षय सचदेव

गान्तोक, २५ सेप्टेम्बर (हि.स.)। मातृभूमिप्रति श्रद्धाका अमर गीत 'वन्दे मातरम्' को 150औं वर्षगॉंठका उपलक्ष्यमा शुक्रवार विद्या भारती अखिल भारतीय शिक्षा संस्थान, नयॉं दिल्लीले देशव्यापी रूपमा 'वन्दे मातरम्' को सामूहिक गायन कार्यक्रम 'नमामि भारतम्' आयोजन गरेर इतिहास रचेको छ। यस कार्यक्रम अन्तर्गत बिहान ठीक 11 बजी देशका 25 हजारभन्दा धेरै स्थान तथा एक करोडभन्दा धेरै नागरिकहरूको उपस्थितिमा सामूहिक रूपमा राष्ट्रिय गीत 'वन्दे मातरम्' गाइयो।

विद्या भारती पूर्व क्षेत्र (सिक्किम, उत्तर बंग, ओडिशा र अन्दमान निकोबार) मा पनि विद्या भारतीद्वारा सञ्चालित 1400 भन्दा धेरै विद्यालयहरूमा 'नमामि भारतम्' कार्यक्रम आयोजन गरियो। यसै क्रममा विद्या भारती सिक्किम प्रान्त अधीनस्थ सिक्किम, दार्जिलिङ र कालेबुङमा सञ्चालित कुल 16 विद्यालयहरूमा सामूहिक रूपमा 'नमामि भारतम्' कार्यक्रम अन्तर्गत सामूहिक 'वन्दे मातरम्' गायन सम्पन्न गरियो।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माका अनुसार, सिक्किममा विद्यार्थी, अभिभावक, समाजका विशिष्ट नागरिक, पूर्व विद्यार्थी मिलाएर 2500 भन्दा धेरै यस कार्यक्रममा सहभागी बने। भारी वर्षाबीच विद्यालयहरूमा आज बिहान आयोजित कार्यक्रममा नागरिकहरूको सक्रिय सहभागिता देखियो।

राजधानीको तादोङस्थित सरस्वती विद्या निकेतनमा 'नमामि भारतम्' कार्यक्रम आयोजन गरियो। कार्यक्रममा सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेव मुख्य अतिथि तथा सेवानिवृत्ता सचिव यशोदा भण्डारी र वरिष्ठ पत्रकार मालाराणा पात्रो विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। विद्यालयका विद्यार्थीहरू, अभिभावकहरू, आचार्य-आचार्याहरू तथा समाजका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सामूहिक रूपमा 'वन्दे मातरम्' गायन सम्पन्न गरियो।

मुख्य अतिथि पुलिस महानिदेशक अक्षय सचदेवले आफ्नो सम्बोधनमा राष्ट्रिय गीत 'वन्दे मारतम्' को इतिहासमाथि प्रकाश पार्दै भारत जस्तो पवित्र एवं देवभूमिमा हामीले जन्म ग्रहण गर्न पाउनु सौभाग्यको कुरा रहेको बताए। विद्या भारतीले युवा पीढीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा ज्ञान दिने प्रयास गरिरहेकोमा उनले संस्थानको सराहना गरे।

पश्चिमी संस्कृतिको प्रभावबारे आफ्ना विचारहरू राख्दै पुलिस महानिदेशकले कुनै पनि देश आफ्ना संस्कार, संस्कृति, परम्परा, भाषा र साहित्यको अवहेलना गरेर महान भएका छैनन् भनी बताए। उनले उपस्थित जन समुदायका ध्यान आकर्षित गर्दै आफ्ना संस्कार, संस्कृति, परम्परा, भाषा र साहित्यप्रति सम्मानको भावना जागृत गरौं भनी आह्वान गरे।

मुख्य अतिथि सचदेवले भारत देशको विविधताको खुलेर प्रशंसा गर्दै देशका विविधतालाई जोड्ने एउटै कडी भनेको भारतीयता रहेको बताए। उनले आफ्नो देशप्रति गर्वको भावना जागृत गर्न र आफ्ना नानीहरूमा पनि देशप्रति गर्वको भावना जगाउन आह्वान गरे।

विद्यालयका निर्देशक एवं प्रशासक दयाराम भट्टराईले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande