
सियोल, २६ सेप्टेम्बर (हि.स.)। उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच बढ्दो सैन्य सहकार्यको आलोचना गर्दै भविष्यमा दक्षिण कोरिया ‘सामूहिक सजाय’ को निशाना बन्न सक्ने चेताउनी दिएको छ। उत्तर कोरियाका एक अधिकारीले कोरियामा अमेरिकी सेनाका शीर्ष कमाण्डर जनरल जेभियर ब्रन्सनको हालैको टिप्पणीको जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन्।
दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापका अनुसार, उत्तर कोरियाको ‘इन्स्टिच्युट अफ एनिमी स्टेट स्टडिज’ का सेक्शन प्रमुख काङ चोल-सुले सरकारी सञ्चारमाध्यममा प्रकाशित एक वक्तव्यमा अमेरिकाले आफ्नो रणनीतिक उद्देश्यका लागि दक्षिण कोरियाको प्रयोग गरिरहेको आरोप लगाए। उनले वाशिङ्टनले क्षेत्रीय द्वन्द्वहरूमा आफ्नो रणनीति कार्यान्वयन गर्न दक्षिण कोरियालाई प्रमुख आधारका रूपमा प्रयोग गरिरहेको दाबी गरे।
काङले कोरियामा अमेरिकी सेनाका कमाण्डर जनरल जेभियर ब्रन्सनको उक्त टिप्पणीको उल्लेख गरे, जसमा उनले कोरियाली प्रायद्वीपको सुरक्षा व्यवस्थालाई पुनःसंरचना गर्न तथा अमेरिका र दक्षिण कोरियाले मिलेर प्रायद्वीप बाहिरबाट आउने खतरासँग सामना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
उत्तर कोरियाली अधिकारीले उक्त टिप्पणीले अमेरिका-दक्षिण कोरिया गठबन्धनलाई केवल दक्षिण कोरियाको सुरक्षासम्म सीमित राख्ने पुरानो तर्कभन्दा अघि बढेर त्यसलाई व्यापक ‘सामूहिक रक्षा’ व्यवस्थासँग जोड्ने प्रयासलाई संकेत गरेको दाबी गरे। उनले दक्षिण कोरियाको बढ्दो रक्षा खर्चको पनि आलोचना गरे।
काङले अमेरिकी रणनीतिक हितअन्तर्गत दक्षिण कोरियालाई ‘सामूहिक रक्षाको निर्णायक केन्द्र’ का रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै भविष्यमा त्यही देश ‘सामूहिक सजायको निर्णायक निशाना’ बन्न सक्ने चेताउनी दिए। यद्यपि, उक्त वक्तव्यमा दक्षिण कोरियाविरुद्ध कुनै विशिष्ट सैन्य कारबाहीको विवरण दिइएको छैन।
यो वक्तव्य कोरियाली प्रायद्वीपमा सैन्य तनाउ सम्बन्धी दुवै पक्षबीच आरोप-प्रत्यारोप र बयानबाजी जारी रहेका बेला आएको हो। हालैका दिनहरूमा उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ भने दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाको मिसाइल प्रक्षेपणबारे आपसी छलफल गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल