
काठमाडौँ, २६ सेप्टेम्बर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनालले अन्तरराष्ट्रिय स्तरमा स्वास्थ्य क्षेत्रका लागि उपलब्ध हुने सहायता घट्दै जानु तथा महामारी तयारीसम्बन्धी बजेटमाथि बढ्दो दबाउका कारण नेपालजस्ता देशहरूले वर्षौँको प्रयासबाट विकास गरेका स्वास्थ्य क्षमताहरू जोखिममा परेको बताएका छन्।
संयुक्त राष्ट्र महासभाको ८१औँ अधिवेशनका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित महामारी रोकथाम, तयारी तथा प्रतिकारसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले कुनै एक देशको स्वास्थ्य सुरक्षा प्रणालीमा रहेको कमजोरीले सम्पूर्ण विश्वलाई असर पार्न सक्ने बताए।
उनले प्यान्डेमिक फन्डको सहयोगमा नेपालले रोग निगरानी प्रणाली, स्वास्थ्य प्रयोगशाला तथा द्रुत प्रतिकार क्षमतालाई सुदृढ बनाएको जानकारी दिए।
विदेशमन्त्री खनालले महामारीसँग जुध्न तीन प्रमुख प्राथमिकतामा जोड दिए। उनले सबै देशले समयमै र किफायती मूल्यमा खोप, परीक्षण सुविधा तथा उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्यान्डेमिक सम्झौता यथाशीघ्र टुंग्याउनुपर्ने बताए।
उनले महामारी तयारीका लागि विश्वव्यापी स्तरमा पर्याप्त वित्तीय स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसलाई विश्वव्यापी सार्वजनिक हितको विषयका रूपमा लिन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरे। साथै, स्वास्थ्य आपतकालीन अवस्थाका बेला प्रवासी श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा यस्ता परिस्थितिमा उनीहरूले सामना गर्ने विशेष जोखिम न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गरे।
शिशिर खनालले महामारी रोकथाम तथा स्वास्थ्य आपतकालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्य, पर्याप्त वित्तीय स्रोत र सुदृढ स्वास्थ्य प्रणालीलाई निरन्तर कायम राख्नु अत्यन्त आवश्यक रहेकोमा जोड दिए।
हिन्दुस्थान समाचार / बिशाल