
नयाँ दिल्ली, २६ सेप्टेम्बर (हि.स.)। वैज्ञानिक जानकारी देशका अधिकभन्दा अधिक मानिससम्म उनीहरूकै भाषामा पुर्याउने दिशामा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर)ले महत्वपूर्ण कदम चालेको छ। केन्द्रिय विज्ञान तथा प्रविधि राज्यमन्त्री (स्वतन्त्र प्रभार) डा. जितेन्द्र सिंहले सीएसआईआरको ८५औँ स्थापना दिवसका अवसरमा पाँच भारतीय भाषामा नयाँ लोकप्रिय विज्ञान पत्रिकाको शुभारम्भ गरे।
सीएसआईआरको राष्ट्रिय विज्ञान सञ्चार तथा नीति अनुसन्धान संस्थान (सीएसआईआर–निस्पर)द्वारा शुरु गरिएका यी पत्रिका तमिल, तेलुगु, मराठी, बंगाली र असमिया भाषामा प्रकाशित हुनेछन्। यसमा असमियाको ‘विज्ञान लहर’, बंगालीको ‘विज्ञान वृत्तान्त’, मराठीको ‘विज्ञान क्षितिज’, तमिलको ‘अरिवियाल अरिक्कैयालर’ र तेलुगुको ‘विज्ञान वेलुगु’ रहेका छन्।
यो पहल सीएसआईआर–निस्परको लामो समयदेखि चलिआएको विज्ञान सञ्चार परम्पराको विस्तार हो। संस्थानका प्रमुख पत्रिकामा अंग्रेजीको ‘साइन्स रिपोर्टर’, हिन्दीको ‘विज्ञान प्रगति’ र उर्दूको ‘साइन्स की दुनिया’ रहेका छन्।
यी पत्रिकाको विशेषता आधुनिक प्रविधि कृत्रिम बुद्धिमत्ताको प्रयोग पनि गरिनु हो। सीएसआईआर–निस्परका विद्यमान विज्ञान पत्रिकाका छनोट गरिएका सामग्रीलाई कृत्रिम बुद्धिमत्ताको सहयोगमा विभिन्न भारतीय भाषामा अनुवाद गरिनेछ। त्यसपछि वैज्ञानिक तथ्यको शुद्धता र भाषाको गुणस्तर कायम राख्न मानव विज्ञहरूले समीक्षा, शुद्धाशुद्धि परीक्षण, तथ्य जाँच तथा सम्पादन गर्नेछन्।
पत्रिकामा अनुवादित सामग्रीसँगै सम्बन्धित भारतीय भाषामा मौलिक लेखहरू पनि प्रकाशित गरिनेछन्। यसबाट क्षेत्रीय भाषामा विज्ञान लेखनलाई प्रोत्साहन मिल्नुका साथै विभिन्न क्षेत्रका वैज्ञानिक उपलब्धि, नवाचार तथा प्राविधिक विकासबारे जानकारी पनि जनसमुदायसम्म पुर्याउन सहयोग पुग्नेछ।
कार्यक्रममा सीएसआईआरकी महानिदेशक तथा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान विभागकी सचिव डा. एन. कलाइसेल्वी, सीएसआईआर–निस्परकी निदेशक डा. गीता वाणी रायसम लगायत विभिन्न पत्रिकाका सम्पादक तथा सम्पादकीय टोलीका सदस्यहरूको उपस्थिति थियो।
सीएसआईआर–निस्परकी निदेशक डा. गीता वाणी रायसमले पाँच भाषामा नयाँ पत्रिका शुरु गर्नुको उद्देश्य विज्ञानलाई समाजको व्यापक वर्गसम्म पुर्याउनु तथा बहुभाषिक, समावेशी र वैज्ञानिक रूपमा सचेत भारत निर्माणमा योगदान गर्नु रहेको बताइन्।
/ बिशाल