
गान्तोक, २७ सेप्टेम्बर (हि.स.)। विश्व हिन्दू परिषद्को तत्वावधानमा सनातन संस्कृतिका संवाहक स्वर्गीय अशोक सिंघलको जन्मशताब्दी समारोह आज सिलगढीमा आयोजना गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर प्रमुख अतिथिका रूपमा सहभागी भए।
लोक भवनका अनुसार, समारोहको शुरुवातमा राज्यपाल माथुरले स्वर्गीय अशोक सिंघल तथा भारत माताको प्रतिमामा पुष्पाञ्जली अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। २७ सेप्टेम्बर, १९२६ मा जन्मिएका अशोक सिंघलको जन्मको १०० वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा समाजका विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
सम्बोधनका क्रममा राज्यपाल माथुरले स्वर्गीय अशोक सिंघलसँगको आफ्नो आत्मीय सम्बन्धलाई स्मरण गर्दै कार्यक्रममा आमन्त्रण गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले अशोक सिंघलको जीवन राष्ट्रप्रति समर्पित रहेको बताउँदै देशमा देशभक्ति, निःस्वार्थ सामाजिक सेवा तथा सामाजिक एकताको भावना विकास गर्न उनले आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गरे।
राज्यपालले भारतीय संस्कृति तथा सनातन मूल्यलाई विश्वस्तरमा अघि बढाउन अशोक सिंघलले पुर्याएको योगदानलाई युगौँसम्म स्मरण गरिने बताए। उनले एकल विद्यालयको परिकल्पनालाई साकार पार्न सिंघलले गरेको कार्यको प्रशंसा गर्दै उनको जीवन प्रेरणाको स्रोत रहेको बताए।
उनले जनसमुदायलाई अशोक सिंघलले देखाएको मार्गलाई आफ्नो जीवनमा अपनाउनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने आह्वान गरे। समाजलाई एकजुट राख्ने तथा सांस्कृतिक जरासँग जोडिराख्ने उनको संकल्पलाई आजको युवा पुस्ताले आत्मसात गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा मुख्य वक्ताका रूपमा विश्व हिन्दू परिषद्का महामन्त्री अशोक तिवारी लगायत साधु, सन्त, महात्मा तथा विभिन्न कार्यकर्ताहरूको गरिमामय उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल