
गुवाहाटी, २७ सेप्टेम्बर (हि.स.)। असम पुलिसले आइतवार गुवाहाटीमा ककरोच जनता पार्टी (सीजेपी) का सहसंयोजक आशुतोष रांका तथा संगठनका अन्य नेता र कार्यकर्तालाई हिरासतमा लिएको छ। संगठनको पहिलो क्षेत्रीय स्वयंसेवक बैठक असम सचिवालय नजिक शुरु हुनुअघि पुलिसले यो कारबाही गरेको हो।
सीजेपी नेताहरू अनुसार, आशुतोष रांका, अंकित भारद्वाज र प्रेम आकाश लगायत संगठनका प्रमुख नेता तथा असमका स्वयंसेवकलाई पुलिसले हरिसातमा लिएर अन्यत्र लगेको छ।
संगठन अनुसार, पुलिसले बिहानैदेखि कार्यक्रमस्थल जाने बाटो अवरुद्ध गरेको थियो। यसका कारण स्वयंसेवकहरू पहाड़मा रहेको बैठकस्थलसम्म पुग्न सकेनन्। संगठनले उक्त कार्यक्रममा क्षेत्रभरिबाट लगभग २०० देखि ३०० स्वयंसेवकलाई सहभागी गराउने योजना बनाएको दाबी गरेको छ।
यसअघि विधायक अखिल गोगोईको नेतृत्वमा रहेको ‘राइजर दल’ का नेताहरूले शनिवार गुवाहाटीमा रांका सहित सीजेपीका अन्य नेतासँग बैठक गरेका थिए। बैठकमा असममा हालै आएको बाढ़ी तथा राज्यमा आफ्नो गतिविधि विस्तार गर्ने सीजेपीको योजना लगायत विभिन्न विषयमा छलफल भएको थियो।
हिरासतमा लिइने क्रममा पत्रकारहरूसँग कुरा गर्दै रांकाले असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमालाई आफ्नो टोलीले विद्यालयमा सञ्चालन गरिरहेको अभियानका कारण राज्यका विद्यालयको अवस्थाप्रति जनताको ध्यान आकर्षित हुने चिन्ता रहेको आरोप लगाए।
हिन्दुस्थान समाचार / भवानी थामी