
गान्तोक, 27 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले दक्षिण सिक्किमस्थित राङगाङ-याङगाङ निर्वाचन क्षेत्रको दुईदिने भ्रमण २६ र २७ सेप्टेम्बर, २०२६ मा सम्पन्न गरेका छन्। भ्रमण अवधि पार्टी अध्यक्षसँगै पार्टीका उपाध्यक्षहरू, प्रवक्ताहरू, वरिष्ठ नेता तथा पार्टी कार्यकर्ताहरू पनि सहभागी रहेका थिए।
२७ सेप्टेम्बरमा राङगाङ-याङगाङ एसीईसीका पार्टी नेता तथा कार्यकर्ताहरूसँग बैठक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राईले २०२४ को विधानसभा चुनाउ र लोकसभा चुनाउमा समेत यस निर्वाचन क्षेत्रबाट पार्टीले प्राप्त गरेको मतको चर्चा गर्दै पार्टीप्रति जनताले देखाएको विश्वासलाई अझ बलियो बनाउन सबै नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले पार्टीका सुधारवादी विचार, नीति र दृष्टिकोणलाई घर-घर तथा जन-जनसम्म पुर्याउन सबै पार्टी नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। उनले पार्टीको सुधार, उत्तरदायी शासन तथा नागरिककेन्द्रित राजनीतिको सन्देशलाई जनताको तहसम्म पुर्याउनु आवश्यक रहेको बताए।
अध्यक्ष राईले वर्तमानमा गरिने इमानदार, जिम्मेवार र दूरदर्शी प्रयासले नै सिक्किमको भविष्य निर्माण गर्ने बताउँदै पार्टीका कार्यकर्ताहरूलाई समर्पण, निष्ठा र स्पष्ट दृष्टिकोणका साथ जनताको पक्षमा काम गर्न आह्वान गरे। उनले वर्तमानमा सही सोच, इमानदार प्रयास र जिम्मेवार राजनीतिक अभ्यासका साथ काम गर्न सके सिक्किमको भविष्यलाई अझ सुन्दर, समृद्ध र उज्ज्वल बनाउन सकिने बताए।
बैठकमा पार्टीका अन्य नेता र प्रतिनिधिहरूले पनि संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी दिनका पार्टी गतिविधिबारे आफ्ना विचार र सुझाउहरू प्रस्तुत राखे।
हिन्दुस्थान समाचार / बिशाल