
सिलगढ़ी, २७ सेप्टेम्बर (हि.स.)। दार्जीलिङ जिल्ला पुलिस अन्तर्गत फाँसीदेवा थाना पुलिसले चार चक्के सवारीसाधनमा गाईवस्तु तस्करी भइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ। पुलिसले सवारीसाधनबाट आठ वटा भैंसी उद्धार गरेको छ। पक्रा पर्नेमा असमको बरपेटा निवासी जालु प्रमाणिक र अब्दुर रहीम रहेका छन्।
पुलिस अनुसार, गोप्य सूचनाका आधारमा शनिवार राति घोषपुकुर–फुलबारी–२७ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मोहम्मद बक्स मोड़मा उक्त सवारीसाधन रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा नर्सरीका बिरुवाको आड़मा भैंसीहरू ओसारपसार भइरहेको फेला पऱ्यो।
चालक र सहचालकसँग पशुधन ओसारपसार सम्बन्धी वैध अनुमति पत्र नभेटिएपछि पुलिसले सवारीसाधन नियन्त्रणमा लिएको हो। उद्धार गरिएका आठवटै भैंसीलाई सुरक्षित रूपमा गोठमा पठाइएको पुलिसले जनाएको छ।
गाईवस्तु तस्करीको आरोपमा जालु प्रमाणिक र अब्दुर रहीमलाई पक्राउ गरिएको हो। दुवै आरोपीलाई आइतवार सिलगढ़ी अदालतमा पेश गरिने पुलिसले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी