
नयाँ दिल्ली, २७ सेप्टेम्बर (हि.स.)। केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) ले गुजरातमा भएको ११.४२ करोड़ रुपियाँको डिजिटल अरेस्ट प्रकरणमा थप दुई आरोपी हिमांशु प्रसाद र युनिस बिस्वासलाई पक्राउ गरेको छ। सीबीआईले ‘अपरेशन चक्र–६’ अन्तर्गत देशका १० राज्यका २२ स्थानमा एकसाथ खानतलासी समेत गरेको छ। अनुसन्धान एजेन्सी अनुसार, दुवै आरोपीले ठगीको रकम प्राप्त गर्ने, विभिन्न खातामा पठाउने तथा रकमको कारोबार शृङ्खला लुकाउने कार्यमा भूमिका खेलेका थिए।
सीबीआई अनुसार, यस प्रकरणमा पीड़ितलाई साइबर अपराधीहरूले पुलिस तथा भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई)का अधिकारी भएको परिचय दिँदै लगभग तीन महिनासम्म डिजिटल रूपमा अरेस्ट गरेका थिए। यस क्रममा डर देखाएर पीड़ितबाट ११.४२ करोड़ रुपियाँ गिरोहको नियन्त्रणमा रहेका बैंक खातामा जमा गर्न लगाइएको थियो।
अनुसन्धानका क्रममा वित्तीय कारोबार तथा प्राविधिक विश्लेषणका आधारमा खानतलासी गरिएको हो। १० राज्यका २२ स्थानमा गरिएको खानतलासीका क्रममा बैंकिङ सम्बन्धी कागजात, खाता सम्बन्धी रेकर्ड, विद्युतीय उपकरण तथा अन्य महत्वपूर्ण प्रमाण जफत गरिएको छ। सीबीआईले यी उपकरण र कागजातको न्यायिक परीक्षण गरिरहेको छ।
सीबीआई अनुसार, खानतलासीका क्रममा हिमांशु प्रसाद र युनिस बिस्वासको भूमिका खुलेको हो। अनुसन्धानमा दुवैले मेसर्स हेक्साक्वेस्ट ग्लोबल प्राइभेट लिमिटेडको बैंक खाता मार्फत ठगीको रकममध्ये २.५ करोड़ रुपियाँ प्राप्त गरेको पाइएको छ। त्यसपछि रकम सहयोगीका विभिन्न बैंक खातामा पठाइएको थियो, ताकि रकमको वास्तविक स्रोत र कारोबारको सम्बन्ध लुकाउन सकियोस्।
अनुसन्धान एजेन्सी अनुसार, दुवै आरोपी डिजिटल अरेस्ट तथा अन्य साइबर अपराधबाट प्राप्त रकम निकाल्न बैंक खाता र एपीके फाइलको प्रयोगमा समेत कथित रूपमा संलग्न थिए। खानतलासीका क्रममा जफत डिजिटल उपकरणबाट आपत्तिजनक कुराकानी, सन्देश तथा कागजात समेत फेला परेका छन्। सीबीआईले अब यस सञ्जालसँग जोड़िएका अन्य व्यक्तिको पहिचान तथा पक्राउका लागि प्रयास गरिरहेको छ।
सीबीआईले ‘अपरेशन चक्र–६’ अन्तर्गत डिजिटल अरेस्टसँग सम्बन्धित विभिन्न प्रकरणको अनुसन्धान विभिन्न राज्यबाट आफ्नो हातमा लिएको जनाएको छ। यी प्रकरणमा साइबर अपराधीहरूले कानून कार्यान्वयन निकाय तथा सरकारी अधिकारीको रूप धारण गरी पीड़ितलाई डिजिटल रूपमा हिरासतमा राख्ने र ठूलो रकम स्थानान्तरण गर्न बाध्य पार्ने गरेको पाइएको छ।
सीबीआई अनुसार, पछिल्लो ३० दिनमा यस्ता चार वटा प्रकरणमा २२ राज्यका १४२ स्थानमा समन्वयात्मक रूपमा खानतलासी गरिएको छ। यस क्रममा १७ आरोपी पक्रा परेका छन्। अनुसन्धानको उद्देश्य ठगीको रकमको खोजी गर्नुका साथै गिरोह सञ्चालन गर्ने व्यक्ति, लाभग्राही तथा अन्य सहयोगीको पहिचान गर्नु रहेको छ।
उल्लेखनीय छ, सीबीआईले कुनै पनि पुलिस, सीबीआई वा अन्य सरकारी एजेन्सीले कसैलाई ‘डिजिटल अरेस्ट’ नगर्ने र फोन वा भीडियो कल मार्फत पैसा माग नगर्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। यस्तो फोन आएमा तत्काल सम्पर्क विच्छेद गरी राष्ट्रिय साइबर अपराध हेल्पलाइन १९३० वा साइबर अपराध सम्बन्धी पोर्टलमा उजुरी गर्न सल्लाह दिइएको छ।
सीबीआईले डिजिटल अरेस्ट तथा संगठित साइबर अपराधसँग सम्बन्धित प्रकरणमा कारबाही जारी रहने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
/ बिशाल