
गान्तोक, २७ सेप्टेम्बर (हि.स.)। पश्चिम सिक्किमअन्तर्गत गेजिङ जिल्ला कार्यालयमा आज एसडीएफ पार्टीका जिल्ला अध्यक्ष दिपेन गुरूङको अध्यक्षतामा एक युवा सभा सम्पन्न भयो। सभाको आयोजना सिक्किमेली युवा समुदायको भूमिकाबारे छलफल गर्न गरिएको बताइएको उल्लेख छ।
एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, सभामा अहिले सिक्किमको राजनैतिक, सामाजिक, साँस्कृतिक-आर्थिक अवस्था डावाँडोल किन र कसरी भएको हो? कसका कारण सिक्किम यस्तो अवस्थामा पुगेको हो? भन्नेबारे चर्चा गरियो। सभामा उपस्थित युवाहरूले सिक्किमलाई एसकेएम सरकारले यसरी मझधारमा पुऱ्याएको हो भन्ने ठहर गरेको बताइएको छ।
सिक्किम र सिक्किमेली जनतालाई सअधिकार र विशेष पहिचानसहित बचाइराख्न सिक्किमेली युवाहरू अब सक्रिय भएर एसडीएफ पार्टीको नेतृत्वमा गोलबद्ध बन्ने सभामा निधो गरेको विज्ञप्तिमा जनाइएको छ। सभालाई विशाल साम्पाङ (केन्द्रिय समितिका महासचिव एवम् युवा मोर्चा प्रभारी), गेजिङ जिल्लाका सङ्गठन प्रभारी कर्मा ओङचुक लेप्चा, जिल्ला समितिका अध्यक्ष दिपेन गुरुङ लगायत अन्य उपस्थित युवाहरूले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल