
मेदिनीपुर, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको पीड़ाकाटा रेञ्जको रञ्जा बीट अन्तर्गत हाड़तड़ा गाउँमा आइतवार बिहान धानको खेतबाट तीन वटा हात्तीको शव फेला परेको छ। तीमध्ये दुई वटा हात्तीको बच्चा रहेको बताइएको छ। हात्तीको मृत्युको सही कारण हाल स्पष्ट हुन सकेको छैन। तथापि ग्रामीणहरूले बिजुलीको करेन्टको चपेटमा परेर यी हात्तीहरूको मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। घटनास्थलको छेवैमा बिजुलीको तार झुण्डिरहेको फेला परेको छ।
गाउँलेहरूले आइतवार बिहान पहिलो पटक धानको खेतमा मरिसकेका तीन वटा हात्तीहरूलाई देखे। त्यसपछि वन विभागलाई सूचना दिइयो। वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर जाँचमा जुटे। पीड़ाकाटा रेञ्जका वन अधिकारी शुभाशिष चौधरीले बताए, हात्तीहरूको मृत्युको कारण अहिले थाहा पाउन सकिएको छैन।। तथापि खेतीको कामको लागि पम्प चलाउने उद्देश्यले धानको खेतमाथिबाट बिजुलीको तार लगिएको थियो। त्यै तारको सम्पर्कमा आएर करेन्ट लागेर यो घटना भएको अनुमान मानिसहरूले लगाइरहेका छन्। यद्यपि हात्तीको मृत्युको सही कारण पोस्टमार्टमपछि मात्र थाहा हुनेछ।
यता मरेका हात्तीहरू हेर्नका लागि बिहानदेखिकै गाउँलेहरूको भीड एकत्र भएको छ। ग्रामीणहरूमध्ये कतिपयले बताए, गए शनिवार राती लगभग 11 बजे हात्तीहरूको करूण आवाज सुनिएको थियो। त्यसैबेला यो दुर्घटना भएको हुनसक्ने उनीहरूले अनुमान लगाए। वन विभागले तीनै हात्तीको शवलाई उद्धार गरी पोस्टमार्टम गर्नको लागि पठाउने छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा