
मङ्गन, 27 सेप्टेम्बर (हि.स.)। लाचेननजिक छाप्तेनमा दुई दिनअघि गएको पैह्रोपछि जिल्ला प्रशासनले सडक खुलाउने काम तीव्र बनाएको छ। मङ्गनका जिल्लापाल अनन्त जैनले आज ११५ आरसीसी, ग्रेफका अधिकारी लेफ्टिनेन्ट कर्नेल अतुलसँग घटनास्थलको निरीक्षण गर्दै युद्धस्तरमा भइरहेको सडक सफाई कार्यको अनुगमन गरे। मार्गलाई यथाशीघ्र खुलाउन विभिन्न मेसिन परिचालन गरिएको छ।
यसैबीच, जिल्लापाल जैनले सम्बन्धित अधिकारीहरूसँग लाचुङ र जिरो पोइन्ट हुँदै डोङ्क्या ला क्षेत्रतर्फ यात्रा गरी पर्यटकलाई बाहिर निकाल्न तथा स्थानीय बासिन्दाको आपतकालीन आवागमनका लागि वैकल्पिक मार्ग खोल्न सकिने सम्भावनाको पनि अध्ययन गरे।
डोङ्क्या ला पुग्न करिब ८ किलोमिटरअघि सडकमा ३ देखि ४ फिटसम्म हिउँ जमेको पाइएको थियो, जसका कारण मार्ग अवरुद्ध भएको छ। त्यसपछि ग्रेफले हिउँ हटाउन मेसिन परिचालन गरी सडकलाई सवारीसाधन चल्न सक्ने बनाउने काम शुरु गरेको छ। तर लगातार हिमपात भइरहेकाले हिउँ हटाउने काम भोलि पनि जारी रहने जनाइएको छ।
जिल्ला प्रशासनले अवस्थाको नजिकबाट निगरानी गरिरहेको बताएको छ। पर्यटक तथा स्थानीय बासिन्दाको सुरक्षित आवागमन सुनिश्चित गर्न दुवै मार्गलाई यथाशीघ्र खुलाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल