
गान्तोक, 27 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज साँझ पाल्जोर स्टेडियममा आयोजित १२औँ अन्तरचर्च गोल्ड कप फुटबल प्रतियोगिताको भव्य समापन समारोहमा सहभागिता जनाए। प्रतियोगिताको आयोजना सिक्किम क्रिश्चियन स्पोर्ट्स कमिटीले गरेको थियो।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत खेलकुद, आपसी सद्भाव र एकताको उत्सवका रूपमा इसाई समुदाय एकै ठाउँमा भेला भएको दृश्यले आफूलाई खुशी बनाएको बताएका छन्। उनले ‘इन्डियन आइडल’ का चर्चित कलाकार अमित पलसँग भेट गर्न पाउनुका साथै उनको प्रत्यक्ष प्रस्तुति हेर्न पाएकोमा पनि खुशी व्यक्त गरे।
मुख्यमन्त्री तामाङले प्रतियोगिताको विजेता ईपीसीएस चर्च, उपविजेता तथा सहभागी सबै टोलीलाई बधाई दिँदै प्रतियोगितालाई स्मरणीय बनाउन योगदान पुर्याएको बताए। उनले सिक्किम क्रिश्चियन स्पोर्ट्स कमिटी तथा सबै सहभागी टोलीको निरन्तर सफलताको कामना गर्दै आगामी वर्ष अझ ठूलो र रोमाञ्चक प्रतियोगिताको अपेक्षा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल