विश्व पर्यटन दिवसका अवसरमा लोकसभा अध्यक्ष र रक्षामन्त्रीले बधाई दिए
प्रतीकात्मक


नयाँ दिल्ली, २७ सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंह लगायतले आइतवार विश्व पर्यटन दिवसका अवसरमा देश–विदेशका पर्यटकलाई शुभकामना दिएका छन्।

ओम बिरलाले सामाजिक सञ्जाल मार्फत विश्व पर्यटन दिवसको शुभकामना दिँदै पर्यटन केवल घुमफिर वा पर्यटकीय स्थल अवलोकन गर्नु मात्र नभई देशको सम्पदा, संस्कृति, प्रकृति तथा परम्परासँग जोड़िने अवसर पनि भएको बताए। उनले विविधतामा एकताको प्रतीक भारत तथा ‘पधारो म्हारे देस’को भावनाले भरिएको राजस्थान विश्वभरिका पर्यटकको रोजाइमा परेको उल्लेख गरे।

बिरलाले राजस्थानको समृद्ध सम्पदामा कोटा–बुन्दी तथा सम्पूर्ण हाड़ौती क्षेत्रको विशिष्ट पहिचान रहेको बताए। चम्बलको प्राकृतिक सौन्दर्य, ऐतिहासिक किल्ला तथा दरबार, बावड़ी, चित्रकला, कोटा डोरिया र जीवन्त लोकसंस्कृतिले पर्यटकलाई आकर्षित गर्ने उनले बताए। विश्व पर्यटन दिवसका अवसरमा राजस्थान र कोटा–बुन्दीलाई केवल अवलोकन नगरी त्यसको सम्पदालाई महसुस, बुझ्न र त्यससँग जोड़िन उनले आग्रह गरे।

रक्षामन्त्री राजनाथ सिंहले भने, प्राचीन मन्दिर तथा ऐतिहासिक स्मारकदेखि लिएर प्राकृतिक आश्चर्य र सांस्कृतिक परम्परासम्म भारतले विश्वलाई आफ्नो सभ्यतागत सम्पदाको अनुपम यात्राको अनुभव गराउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको पर्यटन क्षेत्रले नयाँ गति लिइरहेको उल्लेख गर्दै उनले सम्पर्क सञ्जाल, विश्वस्तरीय पूर्वाधार, सम्पदा संरक्षण तथा भारतको विविध पर्यटन सम्भावनालाई विश्वसामू प्रस्तुत गर्न विशेष जोड दिइरहेको बताए।

केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले पर्यटनले विभिन्न समुदाय, संस्कृति तथा समाजबारे जानकारी र समझ बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत यात्रा गर्न चाहनेहरूका लागि सुरक्षित र विकसित गन्तव्यका रूपमा अघि बढ़िरहेको उनको भनाई थियो। विश्वभरिका पर्यटकलाई भारत भ्रमण गरी यहाँका मूल्यहरू, स्वाद र जीवनभरि सम्झन सकिने अनुभव लिएर फर्किन उनले आग्रह गरे।

केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले पर्यटनले मानिस, संस्कृति र समुदायलाई जोड्नुका साथै रोजगारीका अवसर सिर्जना गर्ने तथा सीमापार आपसी समझ बढ़ाउने बताए। भावी पुस्ताका लागि सम्पदा संरक्षण हुने गरी जिम्मेवार, दिगो तथा समावेशी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले पर्यटन अब केवल विभिन्न स्थानको भ्रमणमा सीमित नरही रोजगारी, स्थानीय अर्थतन्त्र तथा विकासको महत्वपूर्ण आधार बन्दै गएको बताए। प्रधानमन्त्री मोदीको नेतृत्वमा पर्यटनलाई ‘विकसित भारत’का लागि आर्थिक शक्तिका रूपमा विकास गर्न व्यापक प्रयास भइरहेको उनले बताए। भारतको समृद्ध सम्पदा, संस्कृति तथा प्राकृतिक विविधतालाई लाखौँ युवाका लागि नयाँ अवसरको माध्यम बनाउनु सरकारको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande