
नयाँ दिल्ली, २८ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंह लगायत विभिन्न नेताले सोमवार स्वरसम्राज्ञी लता मंगेशकरको जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत लता मंगेशकरलाई श्रद्धाञ्जली दिँदै आफ्नो दिव्य गायन प्रतिभा मार्फत विश्वमा भारतको नाम उज्यालो बनाएको बताएका छन्। उनले लता मंगेशकरले आफ्ना सुमधुर स्वर मार्फत भारतलाई सजाउनुका साथै देशको समृद्धिसँग जोड़िएका विभिन्न पहललाई सदैव प्रोत्साहन गरेको उल्लेख गरे। भारतीय संगीत क्षेत्रमा उनको अतुलनीय योगदान युगौँसम्म स्मरणीय रहने प्रधानमन्त्रीले बताएका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले लता मंगेशकर भारतीय संगीतको अमर पहिचान भएको बताएका छन्। आफ्नो असाधारण सांगीतिक यात्रामा उनले विभिन्न भारतीय भाषाका हजारौँ गीतमा स्वर दिँदै भारतीय चलचित्र संगीतलाई देशको सीमाभन्दा बाहिरसम्म पहिचान दिलाएको उनले बताए। दशकौँसम्म उनले हिन्दी चलचित्र संगीतलाई नयाँ उचाइमा पुर्याउँदै असंख्य गीतलाई कालजयी बनाएको बिरलाले उल्लेख गरे।
रक्षामन्त्री राजनाथ सिंहले भारतकी ‘स्वर कोकिला’ लता मंगेशकरको आवाजले देशका पुस्तौँपुस्तालाई प्रेम, भक्ति र देशभक्तिका भावनासँग जोड़ेको बताए। उनको आवाज गीतमा मात्र नभई प्रत्येक भारतीयको हृदयमा बसेको उल्लेख गर्दै सिंहले उनको संगीत कालजयी रहेको र उनको विरासत सदैव अमर रहने बताए।
केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले लता मंगेशकरको स्वरमा सहजता, स्थिरता र आत्मीयता रहेको बताएका छन्, जसले हरेक श्रोतालाई मन्त्रमुग्ध पार्ने गरेको उनले बताए। विभिन्न भाषा र बोलीका संगीतलाई आफ्नो स्वर मार्फत समृद्ध बनाएकी लता मंगेशकर आफ्ना गीत मार्फत देशवासीको मनमा सदैव जीवित रहने शाहले बताए।
केन्द्रिय संसदीय मामिला मन्त्री किरेन रिजिजुले आफ्नो मधुर र अद्वितीय स्वर मार्फत भारतीय संगीतलाई विश्वभर नयाँ पहिचान दिलाएकी लता मंगेशकरको आवाज आज पनि पुस्तौँपुस्ताको हृदयमा गुञ्जिरहेको बताएका छन्। संगीत र कलाको क्षेत्रमा उनको अतुलनीय योगदान भारतको समृद्ध सांस्कृतिक विरासतको अमूल्य धरोहर भएको उनले बताए।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले लता मंगेशकरको स्वरले भारतीय संगीतलाई विश्वव्यापी पहिचान दिलाएको र उनको आवाज पुस्तौँपुस्ताको स्मृतिको हिस्सा बनेको बताए। देशभक्तिले ओतप्रोत उनका गीतले राष्ट्रिय भावनालाई समेत स्वर दिएको उल्लेख गर्दै उनले भारतीय संगीत र संस्कृतिमा लता मंगेशकरको योगदान सदैव स्मरणीय रहने बताए।
हिन्दुस्थान समाचार / बिशाल