इन्दौरमा आज राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोह, शान्तनु मोइत्रा सम्मानित हुने
शान्तनु मोइत्रा


इन्दौर, २८ सेप्टेम्बर (हि.स.)। मध्य प्रदेश सरकारको संस्कृति विभागले जिल्ला प्रशासनको सहयोगमा इन्दौरमा आयोजना गरिरहेको दुईदिने राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोहमा सोमबार प्रसिद्ध संगीत निर्देशक शान्तनु मोइत्रालाई ‘राष्ट्रिय लता मंगेशकर सम्मान २०२६’ प्रदान गरिने भएको छ।

संस्कृति विभागका निर्देशक एनपी नामदेवका अनुसार, दुईदिने समारोहको शुरुवात आइतबार ‘अमर लता हमारी लता...’ शीर्षकको सांगीतिक साँझबाट भएको हो। सोमबार साँझ ७ बजीदेखि राष्ट्रिय लता मंगेशकर सम्मान अलंकरण समारोह आयोजना हुनेछ, जसमा संगीत निर्देशक शान्तनु मोइत्रालाई सम्मान गरिनेछ। सम्मानस्वरूप पाँच लाख रुपियाँ नगद र प्रशस्तिपत्र प्रदान गरिनेछ। अलंकरण समारोहपछि प्रसिद्ध गायक जोडी सचेत-परम्पराको सांगीतिक साँझ आयोजना हुनेछ।

एनपी नामदेवले सुगम संगीतको क्षेत्रमा कलात्मक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले मध्य प्रदेश सरकारले सन् १९८४ मा राष्ट्रिय लता मंगेशकर सम्मान स्थापना गरेको बताए। यो सम्मान पालैपालो संगीत सिर्जना र गायनका क्षेत्रमा प्रदान गरिँदै आएको छ।

हालसम्म ४२ जना व्यक्तित्वलाई यो सम्मान प्रदान गरिसकिएको छ। गत वर्ष आयोजित अलंकरण समारोहमा २०२४ का लागि संगीत निर्देशनतर्फ शंकर-एहसान-लोय तथा २०२५ का लागि पार्श्व गायनतर्फ सोनु निगमलाई सम्मानित गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande