
कोलकाता, २८ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको बीरभूम जिल्लाको बोलपुरमा आइतबार साँझ अज्ञात हमलाकारीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेता चन्दन भल्लाको गोली हानी हत्या गरेका छन्। भल्ला क्षेत्रमा भाजपा बूथ अध्यक्ष थिए।
पुलिसका अनुसार, हमलाकारीले उनलाई निकै नजिकबाट गोली हानेका थिए। घटनापछि क्षेत्रमा तनाउ र त्रासको वातावरण बनेको छ। घटनाको जानकारी पाएलगत्तै बीरभूम जिल्लाका पुलिस अधीक्षक विदित राज बुन्देश पुलिस टोलीसहित घटनास्थल पुगेका थिए।
स्थानीय स्रोतका अनुसार बोलपुर, नगरपालिकाको वार्ड नम्बर १२ स्थित दुर्गा माता क्लबनजिक साँझ करिब साढे ७ बजी घटना भएको हो। चन्दन भल्ला घर फर्किरहेका बेला मोटरसाइकलमा आएका अज्ञात हमलाकारीले उनको बाटो रोकेर गोली चलाएका थिए। गोली लागेर भल्ला सडकमा लडेपछि हमलाकारी फरार भए।
स्थानीयवासीले उनलाई तत्काल अस्पताल पुर्याए पनि चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए। घटनापछि भाजपा नेताहरूले राज्यको कानून-व्यवस्थाको अवस्थाप्रति आक्रोश व्यक्त गरेका छन्। भाजपाका बोलपुर संगठनात्मक जिल्ला अध्यक्ष श्यामापद मण्डलले दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। बोलपुरजस्तो शहरको बीचमा यस्तो घटना हुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको उनले बताएका छन्।
पुलिसले हत्याको मुद्दा दर्ता गरी हमलाकारीको खोजी शुरु गरेको छ। पुलिस अधीक्षक विदित राज बुन्देशका अनुसार, घटनाबारे प्राथमिकी दर्ता गरी अनुसन्धान तीव्र पारिएको छ। घटनास्थलबाट वैज्ञानिक प्रमाण जॉंच गर्न विधि विज्ञान टोली र तालिमप्राप्त कुकुर टोली परिचालन गरिएको छ। साथै, हमलाकारीको पहिचान र उनीहरू भागेको मार्ग पत्ता लगाउन छेउछाउका क्षेत्रमा जडान गरिएका सीसीटीवी क्यामेराका दृश्यसमेत जाँच भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी