खरसाङ महकुमा खेलकूद संघले महकुमा शासकलाई स्वागत जनायो
Meeting with sdm


खरसाङ, 29 सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको एक प्रतिनिधि टोलीले भर्खरै कालेबुङबाट सरुवा भई खरसाङ आएका महकुमा शासक पेमा शेर्पासित भेट गरी खरसाङमा उनलाई स्वागत गरेको छ। प्रतिनिधि टोलीको नेतृत्व सङ्घका सचिव निर्मल गुरुङले गरेका थिए।

सचिव गुरुङले महकुमा शासकलाई संघको खेलकूद कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराउॅंदै संघले झेल्दै आएको खेलमैदानको कमीबारे अवगत गराए। महकुमा शासकले पनि उनीहरूको कुरालाई ध्यानपूर्वक सुनेपछि खरसाङमा मैदान विषय संघसित एक दुई दिनपछि विस्तृत जानकारी लिने अनि यस विषय सक्दो पहल गर्ने आश्वासन दिए।

यसैगरी, संघका उपाध्यक्ष फुर्बा घिसिङले उनलाई आगामी 3 अक्टोबरमा सम्पन्न हुनलागिरहेको अन्तर कार्यालय फ्रेन्डशिप कप फुटबल प्रतियोगिताको फाइनल खेलको निम्ति निमन्त्रणा दिए। महकुमा शासक शेर्पाले संघका वयोवृद्ध कार्यकारी अध्यक्ष मोहन योञ्जनलाई खादा लगाइदिएर उनीबाट आशीर्वाद पनि लिए।

संघका उपाध्यक्ष फुर्बा घिसिङले नयाँ महकुमा शासक एवं खरसाङ महकुमा खेलकूद संघका अध्यक्षसॅंग भएको भेटबारे जानकारी गराउॅंदै उनको मार्गदर्शनमा संघले धेरै महत्त्वपूर्ण खेलकूद प्रतीयोगीताहरुको आयोजना गरी युवाहरुलाई खेलकूदप्रति आकर्षित गर्न सक्ने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande