नेपाल-श्रीलंकाका विदेशमन्त्रीबीच संयुक्त राष्ट्रसंघमा वार्ता
नेपाल और श्रीलंका के विदेशमंत्रियों की बैठक


काठमाडौँ, २९ सेप्टेम्बर (हि.स.)। न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा नेपालका विदेशमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथबीच मंगलबार भेटवार्ता भएको छ।

विदेशमन्त्री खनालको सचिवालयका अनुसार, दुवै मन्त्रीबीच महासभाका क्रममा साइडलाइन बैठक भएको हो। यस क्रममा नेपाल र श्रीलंकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो।

बैठकमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य आपदाबाट प्रभावित समुदायप्रति श्रीलंकाले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे। उनले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनतालाई धन्यवाद पनि दिए। दुवै पक्षले नेपाल-श्रीलंकाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विभिन्न पक्षमा विचार आदान-प्रदान गरे।

उनीहरूले विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिए। साथै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरीय सम्बन्धलगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप विस्तार तथा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande