गुजराती संगीत जगतका दिग्गज संगीतकार गौराङ्ग व्यासको निधन
गुजराती संगीत जगत के दिग्गज संगीतकार गौरांग व्यास


अहमदाबाद, 0३ सेप्टेम्बर (हि.स.)। गुजराती चलचित्र जगतका प्रख्यात संगीतकार तथा गीतकार स्वर्गीय अविनाश व्यासका पुत्र गौराङ्ग व्यासको बुधबार राति अहमदाबादमा निधन भएको छ। उनको निधनको खबर सार्वजनिक हुनासाथ गुजराती चलचित्र तथा संगीत क्षेत्रमा शोकको लहर फैलिएको छ। उनी लामो समयदेखि गुजराती संगीत क्षेत्रमा सक्रिय रहँदै आएका थिए र १०० भन्दा बढी गुजराती चलचित्रमा संगीत निर्देशन गरेको थियो।

गौराङ्ग व्यासले चलचित्र संगीतका अतिरिक्त सुगम संगीत, लोकसंगीत, भजन, रास-गरबा, नृत्यनाटिका तथा टेलिभिजनका लागि पनि उल्लेखनीय योगदान दिएको थियो। गुजराती विश्वकोशका अनुसार, सन् २००४ सम्म उनले १०० भन्दा बढी गुजराती चलचित्रमा संगीत दिएको थियो। साथै, उनले गुजराती गीतकार तथा गजलकारहरूको ५०० भन्दा बढी रचनालाई संगीतबद्ध गरेको थियो।

गौराङ्ग व्यासले गुजराती रास-गरबा संगीतमा समेत अनेक नयाँ प्रयोग गरेको थियो। उनका चर्चित एल्बमहरूमा ‘जालारामनी झूंपडी’, ‘भजन अनमोल’, ‘गंगा सतीना भजनो’, ‘कहत कबीर’, ‘जालाराम बापानुं हालरडु’, ‘प्राचीन प्रभातियाँ’ तथा ‘नन-स्टप डाण्डिया-रास’ प्रमुख छन्।

गुजराती चलचित्र ‘लभ नी भवई’ मा उनले दिएको संगीत विशेष रूपमा स्मरणीय मानिन्छ। उनका लोकप्रिय गीतहरूमा ‘आज वगडावो रूडा शरणाई ने ढोल’ तथा ‘मने एकली मेलीने’ समावेश छन्। उनका धेरै रचनाहरू आज पनि गुजराती संगीतप्रेमीहरूबीच लोकप्रिय छन्।

उनका चर्चित सिर्जनामध्ये ‘बेना रे’ पनि एक हो। यस गीतमा अनुराधा पौडवालको स्वर रहेको थियो, गीतकार उनका पिता अविनाश व्यास थिए भने संगीत गौराङ्ग व्यासले दिएका थिए। यसरी यो रचना पिता-पुत्रको सांगीतिक परम्पराको अनुपम उदाहरण बनेको छ।

गौराङ्ग व्यासले संगीतको विरासत आफ्ना पिता अविनाश व्यासबाट प्राप्त गरेको थियो। अविनाश व्यास गुजराती चलचित्र तथा संगीत जगतका प्रतिष्ठित व्यक्तित्वमध्ये एक थिए। तर गौराङ्ग व्यासले आफ्नै प्रतिभा, सिर्जनशीलता र नवीन प्रयोगका आधारमा संगीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै गुजराती संगीतको समृद्ध परम्परालाई थप उचाइमा पुर्याए।

उनको निधनको समाचारले प्रशंसक, कलाकार तथा गुजराती चलचित्र र संगीत क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई स्तब्ध बनाएको छ। १०० भन्दा बढी चलचित्र र सयौँ रचनामा संगीत भरेर अमिट छाप छोडेका गौराङ्ग व्यास अब शारीरिक रूपमा हाम्रो बीचमा नरहे पनि उनको संगीत गुजराती संस्कृति र संगीतप्रेमीहरूको मनमा लामो समयसम्म जीवित रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande