इन्जिनियरहरूको अन्तरविभागीय फुटसल प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा
इन्जिनियरहरूको अन्तरविभागीय फुटसल प्रतियोगिताको तेस्रो दिन रोमाञ्चक प्रतिस्पर्धा


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। इन्जिनियर्स डे २०२६ को अवसरमा अल सिक्किमिज डिप्लोमा इन्जिनियर्स एसोसिएसनले फुटसल एसोसिएसन अफ सिक्किमको सहकार्यमा आयोजना गरिरहेको इन्जिनियर्स इन्टर-डिपार्टमेन्टल फुटसल टुर्नामेन्ट २०२६ को तेस्रो दिन पनि जीएमसी फुटसल एरिनामा रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भए।

दिनको पहिलो खेल आरडीडी इस्ट र विद्युत विभाग (दक्षिण-पश्चिम) बीच भएको थियो। आरडीडी इस्टले अनुशासित तथा उत्कृष्ट प्रदर्शन गर्दै विद्युत विभाग (दक्षिण-पश्चिम) लाई ३-० ले पराजित गर्‍यो र प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गर्‍यो।

उक्त खेलमा राज्य विद्युत विभागका प्रधान मुख्य अभियन्ता एवं सचिव (रेभेन्यु) एसटी भोटिया मुख्य अतिथि तथा विद्युत विभागका मुख्य अभियन्ता कार्छोङ भोटिया तथा अधीक्षक अभियन्ताहरू पेमा वाङ्ग्याल भोटिया, तुलसी प्रधान र दीपक शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

दिनको दोस्रो खेलमा स्वास्थ्य विभाग र जलस्रोत विभागबीच सम्पन्न भयो, जसमा जलस्रोत विभागले स्वास्थ्य विभागलाई ४-२ गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्‍यो।

उक्त खेलमा राज्य आरडीडीका प्रधान मुख्य अभियन्ता सुकवीर सुब्बा मुख्य अतिथि तथा विभागका मुख्य अभियन्ता आरडी ग्याल्छेन भोटिया, जलस्रोत विभागका मुख्य अभियन्ता कर्मा सान्डुप भोटिया तथा अतिरिक्त मुख्य अभियन्ताहरू कर्मा ग्युर्मिक लाचेनपा र खगेन्द्र शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

विशिष्ट अतिथिहरूले प्रतियोगितामा सहभागी टोली तथा आयोजक समितिसँग अन्तरक्रिया गर्दै प्रतियोगिताको सफल निरन्तरताका लागि प्रोत्साहन, शुभकामना तथा आशीर्वाद प्रदान गरे। प्रतियोगिताले विभिन्न विभागमा कार्यरत अभियन्ताहरूलाई एकै ठाउँमा ल्याउँदै टिमवर्क, खेल भावना, आपसी सौहार्द र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्द्धन गरिरहेको संघकी प्रचार सचिव छुमिला भोटियाले बताएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande