
गान्तोक, 0४ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले शिक्षक दिवसको अवसरमा राज्यका शिक्षक समुदायलगायत सम्पूर्ण शिक्षण जगतलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आफ्नो सन्देशमा पूर्व राष्ट्रपति, महान् शिक्षाविद् तथा दार्शनिक डा. सर्वपल्ली राधाकृष्णनको जयन्ती अर्थात् शिक्षक दिवसको शुभ अवसरमा शिक्षण समुदाय, विशेषगरी सिक्किमका शिक्षकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले शिक्षक दिवस ज्ञान, करुणा र समर्पणको उत्सवको दिन रहेको बताउँदै एक शिक्षकले राष्ट्र निर्माणको सोचका साथ सम्पूर्ण समाजलाई नयाँ दिशा दिन सक्ने प्रेरणा यस विशेष दिनले प्रदान गर्ने बताए।
राज्यपालले शिक्षकहरूले केवल अक्षर ज्ञान मात्र प्रदान नगरी युवाहरूमा नैतिक मूल्य-मान्यताको विकास गराउँदै उनीहरूलाई जिम्मेवार नागरिक तथा भविष्यका मार्गदर्शक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
यस अवसरमा उनले उत्कृष्ट सेवाका लागि राष्ट्रिय शिक्षक पुरस्कार तथा राज्य शिक्षक पुरस्कारबाट सम्मानित सबै कर्मठ शिक्षकहरूलाई विशेष बधाई दिए। उनले शिक्षकहरूको यो उपलब्धि उनीहरूको निष्ठा, परिश्रम र शिक्षाप्रतिको समर्पणको जीवन्त प्रमाण रहेको बताए।
राज्यपालले सिक्किमका विभिन्न कुनाकाप्चामा कठिन परिस्थितिका बावजुद विद्यार्थीहरूको भविष्य निर्माणमा निरन्तर योगदान पुर्याइरहेका सम्पूर्ण शिक्षकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले शिक्षक दिवसको अवसरमा सबैले शिक्षकहरूको योगदानको सम्मान गर्दै सिक्किमलाई शिक्षाको क्षेत्रमा नयाँ उचाइमा पुर्याउने संकल्प गर्नुपर्ने बताए।
---------------
हिन्दुस्थान समाचार / बिशाल