राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य नेताद्वारा देशवासीलाई श्रीकृष्ण जन्माष्टमीको शुभकामना
प्रतीकात्मक


नयाँ दिल्ली, 0४ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला लगायतले शुक्रबार जन्माष्टमीको पावन अवसरमा देशवासीलाई शुभकामना दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले भनिन्, “जन्माष्टमीको शुभ अवसरमा म देश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण भारतीयलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। भगवान श्रीकृष्णको जीवनलीला र उहाँका सन्देशले भारतीय संस्कृति र दर्शनलाई जीवन्तता प्रदान गरेका छन्। उहाँले सत्य, धर्म, न्याय, करुणा र निष्काम कर्मको मार्ग देखाउनुभएको छ। आउनुहोस्, यस शुभ अवसरमा हामी सबै भगवान श्रीकृष्णका आदर्शलाई आत्मसात् गर्दै समावेशी र विकसित भारत निर्माणका लागि निरन्तर काम गर्ने संकल्प गरौँ।”

उपराष्ट्रपति सीपी राधाकृष्णनले भगवान श्रीकृष्णको जीवन र उहाँका सन्देशले मानवतालाई सत्य, धर्म, कर्तव्य र सदाचारको मार्गमा हिँड्न प्रेरणा दिने बताए। उनले यस पावन अवसरमा भगवान श्रीकृष्णका शाश्वत शिक्षालाई आफ्नो जीवनमा आत्मसात् गर्ने संकल्प गर्दै समाजमा एकता, शान्ति र सद्भाव सुदृढ गर्न योगदान दिन आह्वान गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान श्रीकृष्णका दिव्य सन्देशमा निःस्वार्थ कर्मको अद्भुत प्रेरणा निहित रहेको बताए, जसले मानवतालाई निरन्तर मार्गदर्शन गर्दै आएको छ। उनले श्रीकृष्णको भक्ति र उपासनामा समर्पित यो पावन अवसरले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गरोस् भन्ने कामना गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले श्रीकृष्ण, गोविन्द, हरे मुरारी, हे नाथ नारायण, वासुदेवको जन्मोत्सवका अवसरमा प्रत्येक घरमा सुख-शान्ति, प्रत्येक मनमा विश्वास तथा प्रत्येक जीवनमा नयाँ ऊर्जा र उमंगको सञ्चार होस् भन्ने कामना गरे। उनले जन्माष्टमीका अवसरमा सबै श्रद्धालुमाथि भगवान श्रीकृष्णको कृपा बनी रहोस् तथा राष्ट्र र समाज सत्य, न्याय एवं मानवताको मार्गमा निरन्तर अघि बढिरहोस् भन्ने शुभेच्छा व्यक्त गरे।

रक्षामन्त्री राजनाथ सिंहले श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णको अमर सन्देशले कर्मप्रतिको निष्ठा, विवेक, धैर्य र लोककल्याणको प्रेरणा दिने बताए। भगवान श्रीकृष्णको कृपाले देशमा सुख, शान्ति, समृद्धि र खुशहाली कायम रहोस् तथा प्रत्येक परिवारको जीवनमा आनन्द, आशा र नयाँ ऊर्जाको सञ्चार होस् भन्ने उनले कामना गरे।

केन्द्रिय गृहमन्त्री एवं सहकारितामन्त्री अमित शाहले धर्म, नीति र लोककल्याणका प्रतीक योगेश्वर भगवान श्रीकृष्णले सबैमाथि आफ्नो कृपा कायम राखून् भन्ने शुभकामना व्यक्त गरे।

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले जन्माष्टमी पर्वले सबैको जीवनलाई हर्ष र उल्लासले भरिदियोस् भन्ने कामना गरे। कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशहाली कायम रहोस् भन्ने मंगलकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande