
गान्तोक, 0४ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) मा पाकिम जिल्लाबाट लगभग ५५ परिवार सामेल भएका छन्। छुजाचेन निर्वाचन क्षेत्रअन्तर्गत रङ्गेलीमा आयोजित एक प्रवेश कार्यक्रममा उनीहरू भाजपामा सामेल भएका हुन्।
कार्यक्रम भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा, प्रदेश महासचिव दिनेश नेपाललगायत पार्टीका वरिष्ठ नेता, कार्यसमिति सदस्य तथा स्थानीय कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नवप्रवेशी सबै सदस्यलाई स्वागत गर्दै उनीहरूको प्रवेश जनतामा भाजपाप्रति तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति बढ्दो विश्वासको प्रतिबिम्ब रहेको बताए। उनले भाजपाको उद्देश्य केवल संगठन विस्तार गर्नु मात्र नभई विकास तथा कल्याणकारी योजनाको लाभ प्रत्येक योग्य नागरिकसम्म पुर्याउनु रहेको बताए। पार्टीले व्यक्तिगत रूपमा प्रत्येक घरसम्म पुग्न नसके पनि मोदी सरकारका योजना तथा कल्याणकारी कार्यक्रमहरू सिक्किमभरिका जनतासम्म पुगेको उनले बताए।
आयुष्मान भारत, पीएम-किसान, प्रधानमन्त्री उज्ज्वला योजना तथा ई-श्रमजस्ता प्रमुख पहलहरूको उल्लेख गर्दै उनले यी योजनाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न, किसानलाई सहयोग गर्न, स्वच्छ खाना पकाउने इन्धन उपलब्ध गराउन तथा श्रमिकहरूलाई सामाजिक सुरक्षा सुविधा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
नवप्रवेशी सदस्यहरूलाई पार्टीको जनसेवामुखी अभियानका सक्रिय दूत बन्न आह्वान गर्दै थापाले केन्द्र सरकारका योजनाहरूको लाभ तल्लो तहसम्म पुर्याउन तथा जानकारीको अभावका कारण कुनै पनि योग्य लाभग्राही वञ्चित नहुने सुनिश्चित गर्न आग्रह गरे। उनले ऋणमुक्त, रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर तथा विकसित सिक्किम निर्माण गर्ने भाजपाको दृष्टिकोण दोहोर्याउँदै गुणस्तरीय शिक्षा, आर्थिक अवसर, सुशासन तथा आत्मनिर्भर सिक्किममा जोड दिए। युवाहरूलाई सम्बोधन गर्दै उनले केन्द्र सरकारका विभिन्न पहलअन्तर्गत स्वरोजगार, उद्यमशीलता तथा सीप विकासका अवसर खोज्न प्रोत्साहित गरे।
थापाले राज्यमा जल जीवन मिसनको कार्यान्वयनमा देखिएको कथित कमीप्रति पनि चिन्ता व्यक्त गरे। निर्धारित दिशानिर्देशअनुसार काम नभएको आरोपसहित पार्टीमा गुनासो प्राप्त भएको उनले बताए। भाजपा पक्षले यी गुनासाहरूको अध्ययन गरी उचित माध्यमबाट सम्बन्धित विषय उठाउने उनले
जानकारी दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल